बिओके र लुम्बिनी बैंक गाभिए, एकिकृत कारोवार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिओके र लुम्बिनी बैंक गाभिए, एकिकृत कारोवार सुरु



Bankकाठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) र लुम्बिनी बैंक गाभिएपछिको एकिकृत कारोवार सुरु भएको छ। बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले एकिकृत कारोबारको सुरुवात गरे।

मर्जरपछि बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।लुम्बिनी नेपाली पुँजीबाट स्थापना भएको पहिलो निजी क्षेत्रको बैंक हो । बैंक स्थापना भएको २० बर्ष भइसकेको छ । बिओके पनि १८ बर्षको भइसकेको छ ।

बिओकेसँग लुम्बिनी १०० बराबर ८२.८१ को सेयर अनुपातमा गाभिएको हो । मर्जरपछि पुँजी चार अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । स्वापबाट आएको बाँकी रकम जगेडा कोषमा गएको छ । मर्जरपछि निक्षेप ६५ अर्ब र कर्जा ५३ अर्ब पुगेको छ । बैंकको सञ्चालक समितिमा बिओकेबाट पाँच र लुम्बिनीबाट चार जना सञ्चालक छन् ।

कार्यक्रममा बोल्दै गभर्नर नेपालले दुई बैंक गाभिएपछि बैंक थप सबल भएको बताए । उनले ग्रामिण क्षेत्रमा बैंक नगएको बताउँदै ती गाउँमा गएर जनताको सेवामा समेत ध्यान दिन आग्रह गरे ।  ‘६० प्रतिशत जनता बैंकको पहुँचभन्दा बाहिर रहेका छन्’ उनले भने ‘अझ सुदुर पश्चिम त पुरै बैंकको पहुँचभन्दा बाहिर रहेको छ, त्यहाँ गएर शाखा खोल्नुहोस्।’बैंक ठूलो हुँदा क्षमता पनि बढ्ने बताउँदै गभर्नर नेपालले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी देशमा भइरहेको आयातमा प्रतिस्थापन गर्नेतर्फ लाग्न सुझाब दिए ।

कार्यक्रममा लुम्बिनी बैंकका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठले बैंकको पुँजी ८ अर्ब पुर्याउनुपर्ने भएकोले मर्जर गर्नुपरेकाे बताए । उनले राम्रो प्रतिफल दिन मर्जरमा गएकाे बताउँदै यो बैंक चाँडैनै टप फाइब बैंक बन्ने दाबी गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले ६ महिनामा मर्जर सफल भएको बताए ।

उनले दुबै बैंकका सेयरधनी र ग्राहकको पृष्ठभूमि फरक/फरक रहेको बताए । श्रेष्ठले मर्जरमा जाँदा सेयर कारोबार राेक्न नहुने बताउँदै रोक्नैपरे मर्जमा जाँदा गाभिनेकाे मात्रै गर्नुपर्ने धारणा राखे । कार्यक्रममा लुम्बिनी बैंकबाट केही दिनअघि राजिनामा दिएका प्रमुख कार्यकारी अधिकृत उपस्थित भएनन् ।

प्रकाशित : ३० असार २०७३, बिहीबार ०८:२८