प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नेपाल राष्ट्र बैंक स्वीकृति नचाहिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नेपाल राष्ट्र बैंक स्वीकृति नचाहिने



काठमाडाैं । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नेपाल राष्ट्र बैंक स्वीकृति लिनु नपर्ने भएको छ। यसअघि विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति लिनु पर्थ्यो। राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन बिनियमावली–२०७८ जारी गरेर स्वीकृति लिनु पर्ने बाध्यकारी ब्यवस्था हटाएको हो ।

विनियमावलीमा विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैङ्कबाट पूर्व स्वीकृति लिन अनिवार्य नहुने उल्लेख छ।

विनियमावलीमा विदेशी ऋण लिनका लागि भने राष्ट्र बैंकको पूर्व स्वीकृति अनिवार्य हुने सर्त राखिएको छ। ऋण बैंकिङ्ग माध्यमबाट भित्र्याउनु पर्ने सर्त विनियमावलीमा राखिएको छ।

बैंकले जारी गरेको विनियमावलीमा लगानी भित्र्याएपछि बैंकमा लेखाकंन गर्नु पर्ने व्यवस्था गरिएको छ। विनियमावलीमा विदेशी ऋण लिन भने बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्राभन्दा कम रकमको लगानीको हकमा लेखा परीक्षण प्रतिवेदन अनिवार्य नहुने विनियमावलीमा उल्लेख छ।

ऋण बापतको रकम भित्रिए पछि राष्ट्र बैंकमा लेखाकंन गराउने पर्नेछ। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पूर्ण पालना गर्नुपर्ने विनियमावलीमा सर्त राखिएको छ।

ऋण बापतको रकम सम्बन्धित ऋणीले तोकिएको क्षेत्रमा नै उपयोग गर्नुपर्ने, नियमानुसारको कर कट्टी गरे पश्चात् मात्र ब्याज भुक्तानी हुने सर्त राखिएको छ।

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलवार १५:४८