धितो पत्र बोर्डलाई बैंक वित्तीय संस्थाका संचालकको सुझाव , यी काम गरे मात्र लगानीकर्ताको हित हुन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

धितो पत्र बोर्डलाई बैंक वित्तीय संस्थाका संचालकको सुझाव , यी काम गरे मात्र लगानीकर्ताको हित हुन्छ



काठमाडाैँ । बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले नेपाल धितो पत्र बोर्डले लगानीका लागि जोखिमयुक्त भन्दै सूचीकृत कम्पनीको सूची सार्वजनिक गरेको प्रति  चासो देखाएको छ । गलत काम गरेको भए बोर्डले आन्तरिक रूपमा सचेत गराउनु वा कारबाही गर्नु पर्नेमा नाम नै सार्वजनिक गरेकोमा सिविफिनले आपत्ति जनाएको हो ।

 संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौँ लगानीकर्ताहरूमा मनोवैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारबाही अगाडि बढाउँदा समग्र लगानीकर्ताहरूको हित हुने सिविफिनले उल्लेख गरेको छ ।

सिविफिनले भनेको छ ‘व्यक्ति एवं समूहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरूको कामकारबाहीको वृहत् अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिकरुपमा सचेत गराउनु वा कारबाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी ठहर्छ ।’

सम्बन्धित संस्थाहरूको आर्थिक विश्लेषण गरी लगानी सम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय–समयमा आम लगानीकर्ताहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्न समेत सिविफिनले सुझाव दिएको छ । 

नेपाल धितो पत्र बोर्ड सम्बन्धित लगानीकर्ताहरुको अभिभावकीय संस्था र सूचीकृत संस्थाहरूको नियामक निकाय भएकोले धितो पत्र बजारको बृहत्तर सुधार, विकास एवं विस्तारका लागि सम्बोधित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरूलाई साथ लिँदै बोर्डले अग्रगामी पाइला चाल्दै जाने अपेक्षा सिविफिनले लिएको छ ।

प्रकाशित : ३ असार २०७८, बिहीबार २१:०७