उद्योगमा कार्यरत कर्मचारीलाई कोभिडविरुद्धको खोपमा प्राथमिकता दिन परिसंघको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योगमा कार्यरत कर्मचारीलाई कोभिडविरुद्धको खोपमा प्राथमिकता दिन परिसंघको माग




काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आर्थिक क्रियाकलाप चलायमान बनाउन सरकारसमक्ष आग्रह गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले बजेटमा लक्षित ६.५ प्रतिशतकोआर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै त्यसका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने बताउनुभयो ।


भेटमा अध्यक्ष मोरले बजेटमा उल्लेखित धेरै विषय तत्काल कार्यान्वयनका लागि मौद्रिक नीतिमार्फत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बजेटमा जस्तै मौद्रिक नीतिमा पनि निजी क्षेत्रका समस्या सम्बोधन हुने विश्वास पनि व्यक्त गर्नुभयो ।


नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मार्फत् प्रत्येक निर्णय ७ देखि १५ दिनमा गरिसक्ने व्यवस्था गरेको भन्दै अध्यक्ष मोरले सरकारले पनि प्रत्येक मन्त्रालयका काम यसरी सम्पन्न गर्ने गरी समय तोक्नुपर्ने बताउनुभयो । उहाँले सरकारी निकायका निर्णय प्रक्रिया छिटो र छरितो हुनुपर्ने भन्दै त्यसले सेवा प्रवाहमा सहजता ल्याउने उल्लेख गर्नुभयो।


कोभिड–१९ को भ्याक्सिन निजी क्षेत्रका उद्योगहरुमा कार्यरत मजदूर तथा कर्मचारीलाई प्राथमिकताका साथ उपलब्ध गराउन पनि परिसंघले उपप्रधान तथा अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेको छ । यसैगरी मापदण्ड बनाएर निजी क्षेत्रलाई भ्याक्सिन आयातको अनुमति दिँदा थप सहजहुने र चाँडैनै लक्षित वर्गले खोप पाउने भएकोले यसतर्फ पनि ध्यान दिन पसिंघले सरकारसमक्ष अनुरोध गरेको छ ।
यसैगरी परिसंघले नेपाल धितोपत्र बोर्डले लगानीका लागि जोखिमयुक्त भन्दै सूचीकृत कम्पनीको सूची सार्वजनिक गर्दा लगानीकर्ताको मनोबल घट्न गइ समग्र पुजीँ बजारमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै संवेदनशील विषयमा नियमनकारी निकायले परिपक्व भूमिका खेल्नुपर्नेमा जोड दिएको छ ।


भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सरकारले बजेट कार्यान्वयनलाई आफ्नो परीक्षको रूपमा लिएको उल्लेख गर्नुभयो । उहाँले बजेटमा आएका प्रतिक्रियाले आफू उत्साही भएको र निजी क्षेत्रलाई साथमा लिएर कार्यान्वयन अघि बढाउने पनि बताउनुभयो ।


असारभर तयारीका काम सक्ने र साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको भन्दै त्यसमा सबैको साथ आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले कोरोनाको भ्याक्सिन खरिदमा सरकार अघि बढेको बताउनुभयो । उहाँले अमेरिका, चीन, भारत लगायतका देशबाट भ्याक्सिन खरिद गरी सबै नागरिकलाई उपलब्ध गराउन सरकार लागि परेको पनि उल्लेख गर्नुभयो ।


छलफलमा परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र महानिर्देशक यादवप्रसाद पौड्याल समेतको उपस्थिती थियो ।

प्रकाशित : ३ असार २०७८, बिहीबार २१:०९