आजदेखि निषेधाज्ञा खुकुलो : निजी गाडीमा जोर-बिजोर, बैंक,बीमा र सहकारी पुर्णरुपमा खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आजदेखि निषेधाज्ञा खुकुलो : निजी गाडीमा जोर-बिजोर, बैंक,बीमा र सहकारी पुर्णरुपमा खुल्ने



काठमाडाै । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पारिएको छ । आइतबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै असार १४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यो संगै जोर-बिजोरका आधारमा निजी गाडी सञ्चालन हुन थालेका छन् ।

मङ्गलवार काठमाडाै उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ । यी पसल आइतवार र बिहीवार पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

यस्तै शपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ पसल सोमवार, बुधवार र शुक्रवार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने छ । खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री, खेलकुद सामग्री, डिपार्टमेन्टल स्टोर, स्टेशनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

निर्माणजन्य सामग्री पसल हार्डवेयर, स्यानिटरी, फर्निचर कार्पेटिङ दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी काठमाण्डौ उपत्यकाभित्र बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । वर्कशप बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन क्षेत्र, सैलुन, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, दर्शकसहितका खेलकुद तथा भीडभाडका कार्यक्रम सञ्चालन गर्न पाइने छैन । फुटपाथको व्यापार पनि रोक लगाइएको छ ।

अब घरबाट निस्कन पाइने भएको छ । तर स्वास्थ्यका मापदण्ड भने पालन गर्नुपर्नेछ । सार्वजनिक गाडी आउँदो १४ गते रातिसम्म सञ्चालनमा रोक लगाइएको छ । मोटरसाइकल तथा स्कुटरसहित निजी गाडी जोर–बिजोर चल्न पाउने भएका छन् । आज जोर गते भएकाले पछिल्लो नम्बर जोर भएका निजी गाडी सञ्चालन गर्न पाइनेछ । कार, जीप, भ्यानमा बढीमा चार जना, ट्याक्सीमा बढीमा तीन जना हुनुपर्नेछ ।

सरकारी कार्यालयमा आलो पालो गरी न्यूनतम जनशक्तिबाट सेवा दिने तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गने निर्णय भएको छ । यस अघि सीमित शाखा र कर्मचारीमा मात्रै सेवा दिने व्यवस्था थियो । अब भने भिडभाड नगरेर सेवा दिन पाइने भएको हो ।

पठनपाठन अनलाइन तथा वैदेशिक अध्ययन र डीभी परेका व्यक्ति तथा कुटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तवार्ताका कार्यक्रम सञ्चालन हुनेछन् । उद्योग तथा कलकारखाना र निर्माणका काम गर्दा पनि स्वास्थ्य मापदण्ड पालना गरी गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेका छन् ।

प्रकाशित : ८ असार २०७८, मंगलवार ०६:५७