नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’ को घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’ को घाेषणा



काठमाडौं । नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल कार्यक्रममार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ कारोबार नगरेकालाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यअनुरुप नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्न सुविधा प्रदान गर्ने भएको छ ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले भने, ‘समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभाव ल्याउन सक्षम भएको छ । वर्षौंको दौडान, हामी साथ साथै अर्थव्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ । हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरूको बारेमा सचेत रहन आवश्यक छ । तसर्थ, नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको छ । हामी नाफा अधिकतमतामा मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा केन्द्रित छौं जसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्दछ । यसका साथ हामी लगानी गर्ने कम्पनीहरूमा पर्ने असर, समाज र समग्र इकोसिस्टममा विचार गर्नेछौं ।’

ग्रामीण र वित्तीय पहुँच न्यून भएका वर्गका लागि बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ । यी उत्पादन देश व्यापी रुपमा सबै शाखामा ल्याइएता पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखामा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापमा केन्द्रित भएको जनाएको छ ।

आफ्ना दिगो प्राथमिकतातर्फ कार्य गर्दै बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिईभिटी) का साथ समझौता पत्रमा पनि हस्ताक्षर गरेको छ । बैंकले यस समझौता मार्फत देशभरिका सिटिईभिटी पास गरेका र योसँग सम्बद्ध व्यक्तिहरूलाई आफ्नो दिगो तथा अन्य लघूवित्त/वञ्चित क्षेत्रका उत्पादनहरू प्रदान गर्नुपर्नेछ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सिटिईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले हस्ताक्षर गरे ।

प्रकाशित : १५ असार २०७८, मंगलवार २१:४३