कोभिड महामारीका कारण आयस्तर र स्रोतको पहुँचमाथि असमानता बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

कोभिड महामारीका कारण आयस्तर र स्रोतको पहुँचमाथि असमानता बढ्यो



काठमाडाैं । अन्तर्राष्ट्रिय वित्तीय संस्था बैंक अफ इन्टरनेशनल सेटलमेन्ट्स (बिआईएस) ले कोभिड महामारीका कारण आयस्तर र स्रोतको पहुँचमाथि तीव्र रूपमा असमानता बढेको उल्लेख गरेको छ ।

बिआईएसको ९१ औं वार्षिक बैठकमा सार्वजनिक आर्थिक प्रतिवेदनले मौद्रिक तथा वित्तीय नीतिमार्फत आयस्तर र स्रोतको पहुँचमाथि बढ्दो असमानता न्यूनीकरण गरी समष्टिगत आर्थिक स्थायित्वतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याएको हो ।

बिआईएसको बैठकको पहिलो दिन बैंक अफ इङ्गल्यान्ड तथा बैंक अफ क्यानडाका पूर्व गभर्नर मार्क क्यार्नीले ‘The Art of Central Banking in a Centrifugal World’ विषयमा आफ्नो मन्तव्य राखेका थिए ।

त्यस क्रममा उनले केन्द्रीय बैंकको विगत र वर्तमानको तुलनात्मक भूमिका, बदलिँदो विश्व वित्तीय प्रणालीमा देखिएका नवीनम चुनौतीलाई सम्बोधन गर्दै मौद्रिक तथा वित्तीय स्थायित्वका निम्ति केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने रणनीतिक व्यवस्थाबारे धारणा राखेका थिए ।

प्रविधिमा आएको परिवर्तनसँगै डिजिटल मुद्राको प्रयोग बढ्दै गएको सन्दर्भमा सेन्ट्रल बैंक डिजिटल करेन्सीको अवधारणाका विषयमा समेत क्यार्नीले आफ्नो मन्तव्य केन्द्रित गरेका थिए। उनको प्रस्तुतिमाथि सहभागीहरूबीच समूहगत छलफल भएको थियो ।

बैठकको दोस्रो दिन मंगलबार बिआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले आफ्नो मन्तव्य राख्दै संस्थाको वार्षिक आर्थिक प्रतिवेदनका मुख्य झलकहरू प्रस्तुत गरे । सो अवसरमा उनले कोभिड–१९ का कारण शिथिल बनेको अर्थतन्त्रको दीर्घकालीन स्थिरताको निम्ति नीतिगत आधारशीला तयार गरिनुपर्ने आवश्यकता औंल्याए ।

त्यसको लागि संरचनागत सुधार, नवप्रवर्तनात्मक प्रविधिको विकास र विश्वव्यापी नीतिगत सहकार्य एवम् समन्वय हुनुपर्ने आवश्यकतामा महाप्रबन्धक कार्सटेन्सको जोड थियो ।

बैठकका दौरान सबल वित्तीय प्रणालीका निम्ति बिआईएसबाट भएका नवीनतम र नवप्रवर्तनात्मक प्रयासबारे प्रस्तुति दिइएको थियो । उक्त प्रस्तुतिमाथि बैठकका सहभागीहरूबीच छलफल भएको थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार १४ र १५ गते भर्चुअल माध्यममा आयोजित बिआईएसको ९१ औं वार्षिक बैठकमा सहभागिता जनाएका थिए। बैठकमा बिआईएसको सदस्य बैंकसँगै अन्य केन्द्रीय बैंकका गभर्नर र उच्च अधिकारीहरूको सहभागिता थियो । उक्त बैठकमा बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमेत सहभागी थिए ।

बिआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ ।

सन् १९३० मा स्थापना भएको बिआईएसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । यसको मुख्यालय स्विट्जरल्याण्डको बाजलमा रहेको छ ।

प्रकाशित : १६ असार २०७८, बुधबार २१:०२