मनकामना स्मार्ट लघुवित्तको आइपिओमा कति पर्यो आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मनकामना स्मार्ट लघुवित्तको आइपिओमा कति पर्यो आवेदन



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको दुई दिनमै करीब १० लाखले आवेदन दिएका छन् ।

आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार उक्त आवेदनबाट एक करोड ३३ लाख ४७ हजार २२० कित्ता शेयर माग भएको छ । जुन संस्थाले सर्वसाधारणका लागि माग गरेको भन्दा ३९.६७ गुणा बढी हो ।

संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको हो । बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

तीन करोड ८९ लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए ।

उनका अनुसार प्रतिकित्ता रु १०० अंकित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ ।

यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । शेयर इच्छुक लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गतेमात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै शेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो ।

शेयर निष्काशन गर्नका लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

यसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ ।

सो रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुनेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फत समेत आइपिओमा आवेदन दिन सकिनेछ ।

प्रकाशित : १८ असार २०७८, शुक्रबार १७:२१