वल्र्डलिंकको इन्टरनेट चलाउने ग्राहक ५ लाख पुगे, डायलअपदेखि एफटिटिएच सम्मको यात्रा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

वल्र्डलिंकको इन्टरनेट चलाउने ग्राहक ५ लाख पुगे, डायलअपदेखि एफटिटिएच सम्मको यात्रा



काठमाडाैं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सका सेवा ५ लाख घरधुरीमा पुगेको छ । सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी मानिने वल्र्डलिंकले आफ्ना ग्राहक संख्या यसै साता ५ लाख पुगेको दाबी गरेको छ ।

नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्ने र नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत व्याण्डविथ वल्र्डलिंक एक्लैले प्रयोग गरेको दाबी कम्पनीको छ ।

वल्र्डलिंकले आफ्नो इन्टरनेट सेवा कर्णालीको दुर्गम क्षेत्रमा समेत गरी नेपालका ७३ जिल्लामा पुगेको बताएको छ ।

यसैबीच वल्र्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ । कम्पनीले आव २०७६÷०७७ मा १० औं ठूलो भ्याट योगदानकर्ताको सम्मान समेत पाएको थियो । वल्र्डलिंक आइसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । यसमा करिब ४ हजार जनाले रोजगारी पाएका छन् ।

वल्र्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ ।

कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको हो । दैनिक १ लाख ५१ हजारभन्दा बढीले निःशुल्क उपलब्ध पब्लिक वाईफाई प्रयोग गरिरहेको कम्पनीको दाबी छ ।

वल्र्डलिंक कम्युनिकेशन्समा बेलायती सरकारको संस्था सिडीसी ग्रुपको समेत लगानी रहेको छ । वल्र्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटि सेवा प्रदान गर्दै आइरहेको छ ।

वल्र्डलिंकको सुरुआत संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले सन् १९९५ मा गरेका थिए । त्यतिखेर डायलअप कनेक्टिभिटीमा साधारण ईमेल सेवाबाट यसको सुरुआत भएको थियो । संस्थाले भिस्याट, वायरलेस टेक्नोलोजी, केबल इन्टरनेट र एफटिटिएच जस्ता प्रविधिको प्रयोग गर्दै आएको छ । कम्पनीका संचालकहरु दिलीप अग्रवाल, मनोज अग्रवाल, स्वर्गीय विजय जालानको वल्डर्डलिंक विस्तारमा महत्वपूर्ण योगदान थियो ।

वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले ग्राहकहरूको विश्वास र समर्थनले गर्दा संस्थाले एउटा कोषेढुंगा पार गरेको बताएका छन् ।

‘आजको दिन वल्र्डलिंकका लागि गर्वको क्षण हो, उनले भने, ‘हाम्रो परिवार ५ लाखको ठूलो परिवार बनेको छ । यो विशाल आधार हाम्रा ग्राहकहरुको अथक समर्थनबाट प्राप्त भएको हो ।’

प्रकाशित : १८ असार २०७८, शुक्रबार २०:५४