नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा १२ अर्ब सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा १२ अर्ब सहयोग



काठमाडौं । विश्व बैंकले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रका लागि करिब १२ अर्ब रुपैयाँ (सय मिलियन अमेरिकी डलर) बराबर सहयोग गर्ने भएको छ । विश्व बैंकको कार्यकारी समितिले बिहीबार उक्त सहयोग रकम स्वीकृत गरेको हो ।

शिक्षा क्षेत्रमा ५० मिलियन अमेरिकी डलर र स्वास्थ्य क्षेत्रमा समान ५० मिलियन अमेरिकी डलर बराबरको सहयोग नेपालले पाएको हो । सरकारी विद्यालय गुणस्तर सुधार कार्यक्रम र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापनका लागि यो रकम खर्च हुनेछ ।

विश्व बैंकको श्रीलंका, माल्दिभ्स र नेपाल निर्देशक फारिस हदाद जर्भोसले मानव पूँजी विकासका लागि नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रले ठूलो महत्व राख्ने र मुख्यगरी आर्थिक रुपमा विपन्न र ग्रामिण भेगको जनसंख्यालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको बताए ।

‘महामारीका कारण शिक्षा क्षेत्रमा परेको प्रभाव व्यवस्थापन र बालबालिकालाई पुनः विद्यालय फर्कने वातावरण बनाउनका लागि यो कार्यक्रमले सहयोग गर्नेछ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण र पहुँचयोग्य तथा भरपर्दो सेवा उपलब्ध गराउनु पनि यो कार्यक्रमको लक्ष्य हो ।’

विश्व बैंकले करिब ६ अर्ब ९५० मिलियन० रुपैयाँ बराबर सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि छुट्याइएको छ । विभिन्न छात्रवृत्ति कार्यक्रम तथा विविध कारणले शिक्षा क्षेत्रबाट टाढिएका बालबालिकालाई पुनः विद्यालयमा फर्काउनका लागि यो कार्यक्रमले सहयोग गर्नेछ ।

विश्व बैंकको ‘नेपाल्स हेल्थ सेक्टर स्ट्राटेजी’ कार्यक्रमको समयसीमा १ वर्ष थप गर्ने र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापनका लागि यो कार्यक्रमले सहयोग गर्नेछ । त्यस्तै, कोभिड १९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्वास्थ्य क्षेत्रको एकीकृत रणनीतिक कार्यक्रम बनाउन सहयोग पुग्ने पनि जनाइएको छ ।

अघिल्लो हप्तामात्र नेपालले कोभिड १९ पछिको पुनस्र्थापना कार्यक्रमका लागि विश्व बैंकसँग १६ अर्ब रुपैयाँ बराबर ऋण सम्झौता गरेको थियो । त्यस्तै, विश्व बैंकले नेपालसहित ५० मुलुकको खोप कार्यक्रमका लागि ४ अर्ब डलर खर्चिने घोषणा पनि यसअघि गरिसकेको छ ।

प्रकाशित : २५ असार २०७८, शुक्रबार १४:०९