५३ प्रतिशत रोपाइँ सकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

५३ प्रतिशत रोपाइँ सकियो



काठमाडौं, ५ साउन । समयमै वर्षा सुरु भएकाले यस वर्ष देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सबै क्षेत्रमा एकनासले पानी परेकाले गत वर्षको तुलनामा यस वर्ष धेरै जिल्लामा रोपाइँ भएकाले यस वर्ष मुलुकको ९५ प्रतिशत भू–भागमा रोपाइँँ हुने कृषि विकास मन्त्रालयको अनुमान छ ।

मन्त्रालयका अनुसार यस वर्ष मध्य पहाडमा ६०.९७ प्रतिशत, तराईमा ४९.३ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ५९.७३ प्रतिशत किसानहरुले धान रोपाइँ गरिसकेका छन् । औसतमा मुलुकभर ५३ प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले जानकारी दिए ।

गत आर्थिक वर्षको सोही अवधिमा ४२ प्रतिशत र अघिल्लो आर्थिक वर्षमा मुलुकभर ३२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मुलुकभर कुल १४ लाख २५ हजार ३ सय ४६ हेक्टर धान फल्ने क्षेत्रफलमध्ये हालसम्म झन्डै आधाभन्दा बढी क्षेत्रफल अर्थात् सात लाख ५३ हजार चार सय ६ हेक्टरमा रोपाइँ गरिएको छ ।

मन्त्रालयका अनुसार १५ लाख ३१ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँंदै आए पनि पछिल्लो समय खेतीयोग्य क्षेत्रफल प्लटिङ र अन्य प्रयोजनमा प्रयोग भएपछि हाल १४ लाख २५ हजार तीन सय ४६ हेक्टरमा धानको खेती हुँंदै आएको छ ।

एक अनुसन्धान अनुसार संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । २५ डिग्री तापक्रमदेखि ३२ डिग्री तापक्रमभित्र रही धानखेती गर्न सकिन्छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ ।

प्रकाशित : ६ श्रावण २०७३, बिहीबार ०४:५८