आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार होः अर्थमन्त्री शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार होः अर्थमन्त्री शर्मा



काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाललाई दुई दशकभित्र गरिवीमुक्त गर्न सकिने बताएका छन् । चुनौतीपूर्ण अवस्थाका बीच उज्ज्वल सम्भावना रहेको भन्दै उनले युवा बहुल जनसंख्या भएको देशमा विकासको गतिलाई तीब्रता दिन सकिने धारणा व्यक्त गरे ।


नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले निजी क्षेत्रसँगको सहकार्यमा देशमा गरिवी अन्त्य गर्न सकिने धारणा व्यक्त गरेका हुन । परिसंघले अघि सारेको ‘मेक इन नेपाल स्वदेशी अभियान’ ले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै उहाँले सरकार उक्त अभियानको साथमा रहेको बताए । “आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार हो” उनले भने “देशभर साना तथा मझौला उद्योगहरुको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगहरुको विकास गर्न सकिन्छ, त्यसको लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्नेछ ।”


हाल २ खर्ब १५ अर्ब बराबरको कृषिजन्य वस्तुको आयात रोक्ने अभियान चलाउन थालिएको जानकारी दिदै उनले त्यसमा उद्योग परिसंघको साथ सहयोग रहने विश्वास व्यक्त गरे । मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने सरकारको सोंच कार्यान्वयनको लागि एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले निर्यातमुखी अर्थतन्त्रको विकास गर्न उत्पादित वस्तुको गुणस्तर र मूल्यको सन्तुलन कायम हुनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री शर्माले कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिने गरी राहत तथा पुनस्थापनासहितको प्याकेज ल्याउने तयारी भइरहेको जानकारी समेत दिए ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलवार १६:४६