Feature News

पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा



काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ । संस्थाका सदस्यहरुले बचत गर्नको लागि संस्थाको काउन्टर सम्म आइरहनु नपर्नेगरी सेवा दिने भएको हो ।

कियोस्क टर्मिनल कर्मचारी रहित सेवा हो । आफ्नो खाताको रकम झिक्नको लागि एटिएम तथा मोबाईल बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको संस्थाले रकम जम्मा गर्न कियोस्क बैकिङ सेवा सुरु गर्न लागेको हो ।

सहकारी संस्थामा साना साना रकम जम्मा गर्नको लागि पनि सदस्यहरुले काउन्टरमा आउनु पर्ने र कार्यालय समयमा मात्र सुविधा प्राप्त हुने स्थितिमा जुनसुकै समयमा कियोस्क टर्मिनलमा गएर आफ्नो रकम जम्मा गर्न सक्नेछन् ।

संस्थाले स्थापना गरेको कियोस्क टर्मिनल लगायत देशभरी रहेका प्रभु टेक्नोलोजीले सञ्चालनमा ल्याएका कियोस्क मेशिनहरुबाट चन्द्रागिरि साकोसका सदस्यहरुले आफ्नो खातामा बचत जम्मा गर्न र ऋण भुक्तानी गर्न सक्नेछन् ।

यस सेवाको लागि आज (श्रावण १७ गते ) प्रभु टेक्नोलोजी र चन्द्रागिरि साकोसविच सम्झौता भएको छ । उक्त सेवामा प्रभु टेक्नोलोजीको साथै एम.बैंक टेक्नोलोजीज् प्रमुख प्रविधि साझेदारको रुपमा रहनेछन् ।

सदस्यहरुले कियोस्क मेशिनमा गई स्क्रिनमा आफ्नो खाता नं टाईप गरिसकेपछि आफुले चाहेको रकम उक्त मेशिनमा राखेपछि मेशिनले सदस्यलाई नगद जम्मा भएको भौचर प्रदान गर्नेछ ।

उक्त मेशिनमा नेपाली नोटहरु पहिचान गर्ने प्रविधि जडान गरिने भएकोले सहज तरिकाबाट रकम जम्मा गर्न सकिने छ । सदस्यहरुले आफुलाई फुर्सद भएको समयलाई सदुपयोग गर्दै आफ्नो खातामा रकम जम्मा गर्न सकीने छ ।

युटिलिटी विल्सहरु भुक्तानी गर्न, टपअप गर्न र करदाताहरुले आन्तरिक राजस्व कार्यालयमा कर भुक्तानी सजिलै गर्न सक्नेछन् । यसले काउन्टरमा लाईन बस्नु पर्ने झन्झटबाट मुक्ति दिनेछ भने कोरोना महामारीबाट सुरक्षित हुन र आफुलाई पाएक पर्ने समयमा कारोवार गर्न पनि मद्दत पुग्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए ।

प्रकाशित : १८ श्रावण २०७८, सोमबार ११:१९