संखुवासभाका सामूहिक हत्या आराेपित सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

संखुवासभाका सामूहिक हत्या आराेपित सार्वजनिक



काठमाडौँ । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न आरोपी लोक बहादुर कार्कीलाई प्रहरीले आइतबार संखुवासभा इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

कार्कीले ६ जनाको हत्या दाउराको चिर्पटले गरेको र हत्यालगत्तै चिर्पट जलाएको प्रहरीम समक्ष बयान दिएका छन् ।

घटनाको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एक अधिकृतका अनुसार आरोपीले ६ जनालाई आक्रमण गरी घर गएलगत्तै हत्यामा प्रयोग भएको चिर्पट बालेका थिए । प्रमाण नष्ट गर्ने उद्देश्यका साथ चिर्पट बालेको पाइएको ती अधिकृतले बताए ।

आरोपित ३ पटकसम्म वैदेशिक रोजगारीमा गए पनि काम गर्न नसकेर फर्केको प्रहरीको भनाइ छ ।

प्रहरीलाई पक्राउ परेका कार्कीले दिएको बयानअनुसार आफूलाई मृतक तेज बहादुरले पटकपटक गाली गर्ने गरेको, घरमा धेरै ऋण लागेको तर पैसा कमाउन नसकेको, जीवनदेखि हार मानेको र हीनताबोध भएको कारण तेजबहादुरप्रति रिस साँधी हत्या गरेको बताएका छन् ।

घटनामा जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी रुगम कुँवर र प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टरको टोली अनुसन्धानका लागि खटिएको थियो ।

आरोपीले सिआइबीका अनुसन्धान टोली समक्ष आफ्नो अपराध कबुल गरेको थियो ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १५:५९