नाडाद्धारा एसेम्बल उद्योगलाई छुट दिने सरकारी निर्णयको स्वागत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

नाडाद्धारा एसेम्बल उद्योगलाई छुट दिने सरकारी निर्णयको स्वागत



काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २०७८/७९ को प्रतिस्थापन बजेटमा एसेम्बल उद्योगलाई छुट दिने सरकारी निर्णयको स्वागत गरेको छ ।

एक दशक अघि देखि नै आफना बजेट सम्बन्धी सुझावहरुमार्फत निरन्तर रुपमा सरकारलाई नेपालमा सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन नाडाले अनुरोध गर्दै आएको थियो ।

नाडाको यस्तो अनुरोधलाई सम्बोधन गर्दै अर्थ मन्त्री जनार्दन शर्माले आफनो प्रतिस्थापन बजेट मार्फत एसेम्बल गरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७/०२ ८७/०३ र ८७/११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरेपछि आफूहरुको माग पुरा भएको भन्दै नाडाले सरकारी निर्णयलाई स्वागत गरेको हो ।

सरकारको यो निर्णयले नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग स्थापनाका लागि कोशेढुङ्गा सावित हुने नाडाको बुझाई छ । तर त्यस्ता सवारी साधनहरु उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने भन्दै सरकार परिवर्तन हुदैमा त्यस्ता उद्योगहरुलाई कुनै असर पर्न नहुनेतर्फ भने उसले चासो ब्यक्त गरेको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यलयमा आज प्रेस मिटको अयोजना गरी उक्त संस्थाका अध्यक्ष कृष्णप्रसाद दुलालले एसेम्बल उद्योगमा छुट दिने व्यवस्थाले नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुने आशा ब्यक्त गरे । साथै उनले आयातित मोटरसाइकलमा अन्तशुल्क बृद्धि गरेको विषयमा भने आपत्ति ब्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै नाडाका उपाध्यक्ष करण चौधरीले अहिलेको बिषमा परिस्थितिमा सरकारले आयातित मोटरसाइकलमा कर वृद्धि गर्नु जायज नभएको धारणा ब्यक्त गरे ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार ११:३०