कर्णालीमा सुपथ मूल्य पसल : छैन मार्सी चामल, अनलाइन अर्डर गरे घरमै ढुवानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कर्णालीमा सुपथ मूल्य पसल : छैन मार्सी चामल, अनलाइन अर्डर गरे घरमै ढुवानी



दैलेख । दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।

यो वर्ष उपत्यका र सुर्खेतका उपभोक्ताका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, अनलाइनबाट खरीद गर्न सकिने थप व्यवस्था गरेको छ । कोभिड–१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरीद गर्नसक्ने व्यवस्था गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

चाडपर्वलाई लक्षित गरेर कर्णालीमा सल्यानबाहेक नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पहिलेका वर्षजस्तै चाडपर्व नजिकिएसँगै यो वर्ष पनि १ असोजबाट सञ्चालनमा ल्याएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका लेखा सहायक विनोद पौडेलकाअनुसार गत वर्ष सहुलियत पसलबाट २ हजार ९ सयले सेवा लिएका थिए । ‘यस वर्ष कर्णालीका सल्यानबाहेक नौ वटा जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ,’ उनले भने, ‘प्रतिकेजी पाँच रुपैयाँ छुटमा, एकजना व्यक्तिलाई दुई बोराका दरले वितरण हुँदै आएको छ । बजारको तुलनामा प्रतिक्विन्टल पाँचसयका दरले विक्री वितरण छौं ।’

खाद्यवस्तु उपभोक्ताको घरमै

खाद्य व्यवस्था तथा व्यपार कम्पनीले कोरोना महामारीको जोखिमलाई मध्ययनजर गर्दै अनलाइनबाट पनि सेवा प्रदान गरिरहेको छ । उपभोक्ताले कम्पनीकै मूल्यमा अनलाइनमार्फत अर्डर गरेमा निःशुल्क रुपमा घरमै पुर्‍याइदिने व्यवस्था रहेको लेखा सहायक पौडेलको भनाइ छ । उपभोक्ताले खरीद गर्नुपरेमा कम्पनीमा उपलब्ध हुने मूल्यमै घरमै निःशुल्क रुपमा पुर्‍याउने व्यवस्था छ,’ उनले भने, ‘घरमै अर्डर गर्नको लागि उपभोक्ताले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वेबसाइटमा गएर अर्डर गर्न सकिन्छ ।’

पौडेलले अघिल्लो वर्ष सुपथ मूल्यमा उपभोक्ताको आकर्षण भए पनि यसपालि त्यस्तो अवस्था नभएको बताए । ‘गत वर्ष खरीद गरेर विक्री गरिसक्यौं, यो वर्ष कर्णालीको अर्गानिक वस्तु नपाएकाले कर्णालीका अर्गानिक खाद्य वस्तु उपलब्ध गराउन सकिएन,’ उनले भने, ‘गत वर्ष अर्गानिक उत्पादन खरीद गर्ने भनेको भएन यो पटक खरिद गरेर विक्री गर्छौं ।’

कम्पनीद्वारा विक्री,चलानी,अनुदान गरेर अघिल्लो वर्ष ५४ हजार क्विन्टल चामल र ४५ क्विन्टल कर्णालीको सिमी विक्री भएको थियो । ‘व्यापारिक उद्देश्यलाई विशेष ध्यानमा राखेका छौँ । पहाडको उत्पादन तराईमा र तराईमा भएको उत्पादन पहाडमा र एक क्षेत्रमा उत्पादन भएको वस्तुलाई अर्को क्षेत्रमा वितरण गर्ने हो मुख्य लक्ष्य हो,’ उनले भने ।

मार्सी चामलको टेण्डर नै खारेज

कर्णालीमा उत्पादन भएको र अन्तर्राष्ट्रिय बजारमासमेत पुग्न सफल र माग भएको मार्सी चामलको लागि यो आर्थिक वर्षमा दुई सय क्विन्टल खरीद गर्न टेण्डर आह्वान गरे पनि कसैको ठेक्का नपरेपछि टेण्डर नै रद्ध भएको छ । कर्णालीमा उत्पादित मार्सी चामल भण्डारणमा समस्याका कारण पर्याप्त मात्रामा चामल उपलब्ध नहुँदा टेन्डर नै खारेज भएको हो । किसानहरुले पर्याप्त रुपमा भण्डार गर्न नसक्नु नै खाद्य बस्नु उपलब्ध नहुनु मुख्य समस्या रहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा दर्ता भएका सहकारीलाई ६ देखि ७ प्रतिशत छुटमा उपलब्ध गराउने गरेको छ । उक्त मूल्यदेखि कम्पनीबाट खरीद गरेर सहकारीले त्यहीँ मूल्यमा विक्री वितरण गर्नुपर्ने हुन्छ ।

कम्पनी प्रादेशिक कार्यालय सुर्खेतमा हाल १३ हजार क्विन्टल चामल र ४० क्विन्टल दाल मौज्दात रहेको छ ।

अरुवा मोटा चामल पहिले विक्री गर्दै आएको मूल्य चार हजार छ सय थियो भने अहिले पाँचसय रुपैँया छुट गरेर चार हजार एक सयमा विक्री वितरण हुँदै आएको छ । त्यस्तै अरुवा सोना मन्सुली चामल चार हजार नौसय ७० रुपैँयामा विक्री हुँदै आएकोमा चाडपर्वको अवसरमा पाँचसय रुपैँया छुट गरेर चार हजार चार सय ७० तोकिएको छ ।

जसको प्रतिबोरा एक हजार तीनसय ४१ मा विक्री हुँदै आएको छ । छ हजार चार सय पर्ने स्टिम मसिनो जिरा चामल अहिले प्रति क्विन्टल पाँचसय छुट गरेर पाँच हजार नौ सयमा विक्री भइरहेको छ । जस्को प्रतिबोरालाई एकहजार चारसय ७५ मा खरीद गर्न सकिन्छ ।

सुपथ मूल्य सञ्चालन हुँदा नागरिकलाई राहत

वीरेन्द्रनगर २ की कल्पना भण्डारीले बजारमा उपलब्ध हुने चामल महंगोमा खरीद गर्नुपर्ने समस्याले चाडपर्व नजिकिँदा सुपथ मूल्य संचालनपछि केहीरुपमा राहत भएको बताइन् । ‘सस्तोमा पाउने भएकाले पनि चामल लिन यहाँ आए,’ उनले भनिन्, ‘कमाइकाज केही हुँदैन । घरघडेरी नभएका भाडामा बस्नेलाई सुपथ मूल्य सञ्चालन भएर सस्तोमा पाउँदा सहज भएको छ ।’/न्युज कारखाना

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार १२:५१