साहस ऊर्जाको ७० लाख कित्ता आइपीओ खुल्यो, आजबाट आवेदन दिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साहस ऊर्जाको ७० लाख कित्ता आइपीओ खुल्यो, आजबाट आवेदन दिन सकिने



काठमाडौं । साहस उर्जा लिमिटेडले आजबाट साधारण शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको जनाएको छ । कुल सेयरमध्ये २ लाख १० हजार कित्ता (३ प्रतिशत) सेयर कर्मचारीका लागि र ३ लाख ५० हजार कित्ता (५ प्रतिशत) सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयरमा सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सकिनेछ। पूर्ण आवेदन नपरेको खण्डमा २० असोजमा आवेदन दिने मिति लम्बिनेछ।

न्युनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० लाख ५० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल सोलुखुम्बुका सोलुदुधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत रु १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको जनाउँछ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । स्थानीयलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १०:५४