सुगममा सुपथ पसल, दुर्गममा चामल नै छैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सुगममा सुपथ पसल, दुर्गममा चामल नै छैन



जाजरकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकिलो चामलमा पाँच रुपैयाँ छुट दिने निर्णय डोल्पामा खल्लो भएको छ । कम्पनीको गोदाममा चामल नै नहुँदा दैनिक चामल लिनका लागि आएका सर्वसाधारणहरू रित्तो हात फर्कन बाध्य भएको कार्यालय प्रमुख कमलराज पाण्डेले जानकारी दिए ।

‘रेडियो, टेलिभिजनबाट प्रतिकिलो पाँच रुपैयाँ छुट थाहा पाएका सर्वसाधारणहरू चामल लिनका लागि आउनुहुन्छ, हामीसँग चामल नै छैन, के दिनु ?’, उनले भने ।

सरकारले देशका सुविधा सम्पन्न ठाउँमा सुपथ मूल्य पसल स्थापना गरेर सेवा प्रवाह गरे पनि डोल्पालगायत जाजरकोटका सर्वसाधारणलाई त्यो सुपथ मूल्य पसलले छुन सकेको छैन ।


सुविधा सम्पन्न ठाउँमा सुपथ मूल्य पसल भए पनि दुर्गममा भने छैन । दुर्गमका जनताका लागि सुपथ मूल्य पसलसहितको सेवा नभएको डोल्पा ठुलिभेरी नगरपालिका–३ का डिलाराम थापाले बताए ।

‘जहाँ सुगम छ, त्यहीँ सरकार छ ? हाम्रोमा जति पैसा तिरेर खाद्यान्न खरिद गर्छौँभन्दा पनि चामल पाइँदैन के गर्नु । वर्षामा भत्किएका सडकहरू समेत सुचारु भएका छैनन्’, उनले भने ।

डोल्पाका गाउँमा अहिले खाद्यान्न अभाव हुन थालेको छ । दुनैमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले समस्या परेको समयमा मात्र उपलब्ध गराउने भन्दै थोरै चामल सुरक्षित गरी राखेको छ । गाउँका सबै डिपोहरू रित्तो अवस्थामा छन् ।

गत आर्थिक वर्षमा जिल्लाको लागि १८ हजार क्विन्टल चामल विनियोजन भई विक्री भइसकेको लिमिटेडले जनाएको छ । दुनै शाखामा दुई सय ५० क्विन्टल र जुफाल गोदाममा दुई सय नौ क्विन्टल चामल मात्र मौज्दात छ ।

नेपाल सरकारले गएको वर्ष माथिल्लो डोल्पाको लागि एक हजार ५ सय क्विन्टल, तल्लो डोल्पाका सर्मी डिपोको लागि तीन सय क्विन्टल, काइगाउँ डिपोको लागि एक हजार क्विन्टल, दुनै शाखाको लागि नौ हजार क्विन्टल र जुफाल गोदाको लागि चार हजार पाँच सय क्विन्टल गरेर १८ हजार क्विन्टल चामल विनियोजन गरेको थियो । यो सबै चामल सकिएकाले अहिले समस्या हुँदै आएको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार ११:३३