काठमाडौं उपत्यकामा ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडौं उपत्यकामा ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने



काठमाडाै । काठमाडौं उपत्यकाका लाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु भएको छ । मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुबिधा सहित शुरु भएको हो । मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ ।

यस मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु समावेश छन् जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ । ट्याक्सी सेवालाई डिजिटलाइज र अत्याधुनिक बनाउनका लागि आएको मेट्रो अनलाइन ट्याक्सीले अनौपचारिकरुपमा सेवा शुरु गरिसकेको छ ।

यसैबीच मेट्रो अनलाइन ट्याक्सीले आज बुधबार ट्याक्सी चालकहरुका लागि अनलाइन ट्याक्सी सेवा र ग्राहकहरुलाई प्रदान गर्ने सेवाको बारेमा अभिमूखीकरण तालिम पनि सञ्चालन गरेको छ । तालिममा अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्ने, एपको प्रयोग गर्ने तरीका, ग्राहकहरुसँग गरिने व्यवहार लगायतका विषयहरुमा ट्याक्सी चालकहरुलाई तालिम प्रदान गरिएको छ ।

सो तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने र यसले ट्याक्सी सेवालाई मर्यादित तथा व्यवस्थित बनाउने कम्पनीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङ्गले जानकारी दिए ।यस्तो तालिम मासिकरुपमा विभिन्न क्षेत्र र स्थानहरुमा गरिने योजना रहेको उनले बताए ।

मेट्रो अनलाइन ट्याक्सीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै ट्याक्सी धनी र चालकहरुसँगको सहकार्यमा ट्याक्सीहरुलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटल प्लेटफर्महरुको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको छ ।
मेट्रो अनलाइन ट्याक्सीमा यात्रुहरुले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा उपयोग गर्नसक्ने कम्पनीका प्रशासनिक प्रमुख रविन्द्र भुपाल प्रधानले जानकारी दिए ।

‘हामीले हालसम्मकै सस्तो भाडादरमा आधारित भएर ट्याक्सी सेवा दिनेछौं । यसमा न्यूनतम ९९ रुपैयाँमा नै यात्रुले ट्याक्सी चढ्न सक्नेछन्,‘ प्रशासनिक प्रमुख प्रधानले भने।आगामी दिनमा मेट्रो अनलाइन ट्याक्सीमा थप ट्याक्सीहरुलाई सहभागी गराउने र सेवा क्षेत्र बिस्तार गर्ने योजना रहेको उनले बताए ।

मेट्रो अनलाइन ट्याक्सीमार्फत सेवा लिन चाहने यात्रुहरुले एपमा रजिस्टर गरेर मात्र सेवा लिँदा सुरक्षित हुने र यात्रा भरपर्दो बनाउन सकिनेछ भने आगामी दिनमा सेवा सुधारमा पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ । ट्याक्सी स्ट्याण्डमा आएका यात्रुलाई सेवा दिनुपर्दा चालकले एपमा रजिस्टर गराई मात्र सेवा दिनेछन् । यसले गर्दा यात्रु र चालक दुबै सुरक्षित हुनसक्नेछन् ।

यस मेट्रो अनलाइन ट्याक्सी एपमा आबद्ध हुने ट्याक्सीहरुलाई कम्पनीको निश्चित मापदण्डअनुसार निशुल्क ट्याक्सी बीमा गर्दै आएको छ । जसले ट्याक्सी दुर्घटना भएको खण्डमा ट्याक्सी व्यवसायीहरुलाई बीमा सुनिश्चित गर्दछ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १८:०७