कांग्रेस क्रियाशील विवाद : सर्लाहीमा प्रदेश मन्त्री र प्रतिनिधिसभा सदस्यबीच द्वन्द्व उत्कर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कांग्रेस क्रियाशील विवाद : सर्लाहीमा प्रदेश मन्त्री र प्रतिनिधिसभा सदस्यबीच द्वन्द्व उत्कर्षमा



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा सर्लाहीमा चुलिएको आन्तरिक विवादले गर्दा अझै अधिवेशन हुन सकेको छैन् । जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारी प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहविरूद्ध उभिन थालेपछि सर्लाहीमा विवाद चर्किएको हो ।

सर्लाही ४ ‘क’ का प्रदेश सांसद एवं मन्त्री वीरेन्द्रप्रसाद सिंहमाथि केन्द्रीय पार्टी कार्यालय सानेपामा मंगलबार दुर्व्यवहार भएपछि विवाद उत्कर्षमा पुगेको छ ।
पार्टी कार्यालयमा पुगेका बेला संघीय सांसद अमरेशनिकट एक वडाध्यक्षसहितको समूहले आफूमाथि नियोजित रूपमा दुर्व्यवहार गरेको मन्त्री सिंहले बताएका छन् ।

काठमाडौंस्थित गौशालामा आयोजित एक कार्यक्रममा उनले दुर्व्यवहार भएपछि आक्रोशमा आएर आफूले अपशब्द प्रयोग गरेको स्वीकार गरे। बुधबार सर्लाहीबाट काठमाडौं आइपुगेका आफ्ना समर्थकलाई सम्बोधन गर्दै मन्त्री सिंहले नेपाली कांग्रेसमै बसेर पार्टी कमजोर बनाउने काम गरिरहेको आरोपसमेत अमरेशमाथि लगाएका छन् ।

सर्लाही ४ का क्षेत्रीय सभापति रामआश्रय साहले विज्ञाप्ति जारी गर्दै घटना नियोजित रूपमा भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । ‘माननीय अमरेश सिंहको उक्साहटमा मन्त्री वीरेन्द्र सिंहमाथि दुर्व्यवहार गर्नेलाई विधानबमोजिम कडाभन्दा कडा कारवाही गर्न केन्द्रीय समितिसमक्ष माग गर्दछु,’ क्षेत्रीय सभापति साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री सिंहले अधिवेशनमा पराजित हुने बुझिसकेपछि अमरेशले उदण्ड स्वभावका व्यक्ति प्रयोग गरी योजनाबद्ध रूपमा आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् । शीर्ष नेतृत्वबारे गैरजिम्मेवार अभिव्यक्ति दिने, अन्य पार्टीसँग साँठगाँठ गरेर पार्टीलाई कमजोर बनाउने दिशामा अमरेश अगाडि बढिरहेको उनको भनाइ छ । उनले अमरेश जस्ता नेता महाधिवेशनबाट बाहिरिने निश्चित रहेको दाबी गरे।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १३:३०