स्यानिटरी प्याडमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

स्यानिटरी प्याडमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग



काठमाडौं । स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिको चर्को आलोचना भइरहेको छ । महिलाहरूले प्याडलाई नि:शुल्क बनाउनु पर्ने माग गरिरहेको बेला मूल्य वृद्धि हुँदा चर्को विरोध भइरहेको हो ।

अहिले सामाजिक सञ्जालमा #makesanitarypadtaxfree, #freesanitarypad लगायत क्याम्पेन चलिरहेको छ । स्यानिटरी प्याड अत्यावश्यक वस्तु भएकाले यसमा सरकारले कर छुट गरी मूल्य कम गराउनु पर्ने माग विभिन्न संघसंस्थाले गर्दै आएका छन् । स्यानिटरी प्याडलाई सर्वसुलभ र सबैको पहुँचमा पुर्‍याउन दबाब बढेको छ ।

अहिले बजारमा प्रतिथान प्याडको मूल्यमा १० प्रतिशतसम्म वृद्धि भएको छ । कच्चा पदार्थ तथा ढुवानी खर्च वृद्धि र कोरोना महामारीका कारण लामो समय बन्द उद्योग तथा कम्पनीको उत्पादन मूल्य बढ्दा प्याडको मूल्य बढ्न पुगेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा तीन करोड ३१ लाख १९ हजार ५९८ थान प्याड, टेम्पोन तथा मेन्स्चुरल कपजस्ता स्यानिटरी सामग्री नेपाल भित्रिएको तथ्याङ्क छ । भन्सार विभागको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालमा भारत, चीन, भियतनाम, ताइवान, मलेसिया लगायतका देशबाट धेरै प्याड आयात हुने गरेका छन् ।

नेपालमा प्रतिवर्ष करिब ६० अर्ब रूपैयाँ बराबरको स्यानिटरी प्याड खपत हुने गरेको छ । जसमा करिब ४० प्रतिशत मात्रै नेपालमा उत्पादन हुने र बाँकी विभिन्न देशबाट तयारी आयात हुने गरेको छ ।

राष्ट्रिय जनगणना २०६८/६९ को तथ्याङ्क अनुसार महिनावारी उमेर समूहका ७८ लाख २७ हजार ७२० जनसंख्याको करिब १५ प्रतिशतले स्यानिटरी प्याडको प्रयोग गर्ने गरेको तथ्याङ्क छ । अहिले यो संख्या बढ्दो क्रममा छ । एक अध्ययनअनुसार एक महिलालाई एक महिनामा सरदर १६ वटासम्म स्यानिटरी प्याड आवश्यक पर्छ ।

सन २०१९ मा एसियाका विभिन्न १८ देशमा बीबीसीले गरेको एक अध्ययनमा महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाली महिलाहरूले आफ्नो मासिक आयको तीन प्रतिशत रकम महिनावारी हुँदा प्रयोग हुने सामग्रीमा खर्च गर्ने गरेको उक्त तथ्याङ्कले देखाउँछ । यो रकम औसत नेपाली परिवारले शिक्षामा खर्च गर्ने रकमजति नै हुन आउँछ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १९:१९