पर्यटन व्यवसाय ठप्प भएसँगै पर्यटक जाँच केन्द्रका कार्यालय बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पर्यटन व्यवसाय ठप्प भएसँगै पर्यटक जाँच केन्द्रका कार्यालय बन्द



लमजुङ । कोरोनाका कारण लमजुङका विभिन्न स्थानमा पर्यटकका लागि स्थापना गरिएका पर्यटक जाँच केन्द्रका कार्यालयहरू बन्द भएका छन् ।लमजुङमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान)ले पर्यटकको आगमनमा कमी भएसँगै डेढ वर्षदेखि नै आफ्ना कार्यालयहरू बन्द गराएका हुन् । लमजुङमा एक्याप र टानले पर्यटनसम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् ।

एक्यापले जिल्लाको मर्स्याङ्दी गाउँपालिका सिम्पानी र घलेगाउँको पर्यटक चेक पोस्ट कार्यालय बन्द गरेको छ । यता, टानले सदरमुकाम बेँसीशहरमा स्थापना गरेको पर्यटक सूचना जाँच केन्द्रको कार्यालय बन्द गरेको हो । बेँसीशहरमा  सन् २००७ देखि टानले पर्यटक सूचना जाँच केन्द्र (टिम्स)को कार्यालय स्थापना गरेको थियो । टिम्सको कार्यालय पर्यटकीय गतिविधि पुनः संचालन नभएसम्म संचालन गर्न नसकिने टान पश्चिमाञ्चल अध्यक्ष सुशीलराज पौडेलले बताए ।

जिल्लामा टानले टिम्समार्फत विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग र अन्य जिल्ला भित्रिएका र जिल्लाबाट बाहिरिने पदयात्री पर्यटकहरूको सूचना तथा तथ्यांक संकलन गर्दै आएको थियो । एक्यापले जिल्लाका दुईवटा कार्यालय बन्द गरी इलाका कार्यालय भुजुङ र सदरमुकाम बेँसीशहरमा मात्र कार्यालय संचालन गरेको छ भने टानले संचालन गरेको टिम्सको एक मात्र कार्यालय पूर्ण रूपमा बन्द भएको छ । एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरूलाई अनुमति दिने र उनीहरूको तथ्यांक राख्दै आएको थियो ।

टान र एक्याप दुवै संस्थाले प्रावधानबमोजिम पर्यटकहरूबाट शुल्क उठाएर सरकारलाई राजस्व बुझाउने गरेका छन् । सोही रकमको केही हिस्साबाट कार्यालय व्यवस्थापन हुँदै आएको थियो । हाल एक्यापले सदरमुकाम बेँसीशहरको कार्यालयबाट साविक जस्तै पर्यटकहरूलाई अनुमतिपत्र प्रदान गर्दै आएको छ ।

बेँसीशहरस्थित टिम्सको कार्यालय विस्थापित भएपछि अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा मात्र पर्यटक जाँच हुने गरेको छ । वर्षमा दुई सिजन बाह्य पर्यटकहरूको चाप रहने लमजुङमा कोभिड प्रभावका कारण दुई वर्षदेखि नै पर्यटन व्यवसाय सुनसान बनेको छ । पर्यटन व्यवसाय सुनसान बनेसँगै पर्यटन व्यावसायी र पर्यटन सेवाप्रदायक संस्थासमेत संकटमा परेका छन् । 

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार २०:१८