एनआरएनको अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआरएनको अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी घोषणा



काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै उनले संघभित्र आर्थिक अनियमितता र दुरुपयोग भइरहेको भन्ने गुनासोलाई अन्त्य गर्ने प्रतिबद्धता जनाए ।

नेपाल सरकारले एनआरएनलाई दिइने भनिएको नागरिकता र सम्पत्ति उपभोग गर्ने व्यवस्थालाई पनि आफूपछि आउने पुस्ताले संघर्ष गर्नुनपर्ने गरी काम गर्ने आचार्यको प्रतिबद्धता जनाए । विदेशी जेलमा रहेका नेपालीलाई स्वदेश ल्याउने र विदेशमा ज्यान गुमाएका शव नेपाल ल्याउने विषयमा संस्थागत रूपमा काम गर्ने भन्दै उनले नेपालको विकासमा आफू साझेदार भएर काम गर्ने बताए ।

विदेशमा सिकेको ज्ञान र सीपलाई मातृभूमिमा ल्याउनुपर्ने दायित्वलाई आफूले पूरा गर्ने बताएका उनले भूतपूर्व गोरखा सैनिकको समस्या समाधानमा पनि पहल गर्ने प्रतिबद्धता जनाए । कोभिडका कारण समस्यामा परेर नेपालमा फर्केहरूलाई लक्षित गरेर ‘एक एनआरएन एक रोजगार’ कार्यक्रम अविलम्ब कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

आचार्यका मुख्य कार्ययोजना


-पैत्रिक सम्पतिको अधिकार, राहदानी तथा तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने ।
-म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई पिपुल अफ नेपाली अरिजिन (पिएनओ)को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने ।
-संघका पंजीकृत सदस्यहरुको संख्या ५ लाख पुराउने ।
-राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुराउने ।
-नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने छ ।
-बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गरिने छ।
-खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणालाई अगाडी बढाइने छ ।
-कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गरिने छ ।
-एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने छ ।
-विदेशमा हुर्की रहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गरिने छ ।
-एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने छ ।

प्रकाशित : १० आश्विन २०७८, आईतवार १४:२२