हिलटप जुनार बहुउद्देश्यीय सहकारीको बदमासीः बचत उठाएर आइपिओमा लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

हिलटप जुनार बहुउद्देश्यीय सहकारीको बदमासीः बचत उठाएर आइपिओमा लगानी



काठमाडाैं । काठमाडाैको तीनकुनेमा मुख्य कार्यलय रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यबाट बचत उठाएर बीमा र साधारण सेयर (आईपीओ)मा लगानी गर्दै आएको तथ्य बाहिर आएको छ । संस्थाले सदस्य सम्बृद्धि बचत अभियानको नामबाट बचत उठाएर सो रकम सहकारीको एेन विपरित लगानी गरेको खुल्न आएको हो ।

संस्थाले सो योजनाबाट सदस्य मार्फत २ करोड ४२ लाख ५० हजार बचत संकलन गरेको देखिएको छ । सो बचतबाट संस्थाले २३ करोड ४९ लाख दायित्व सृजना भएको छ । सो रकम स‌स्थाले आइपिओ र बीमामा लगानी गर्दै आएको हो । सहकारीले सदस्यको नाममा खरिद भएको आइपिओ व्वस्थापनका लागि हिलटप जुनार ईन्भेष्टमेन्ट प्रा लि नामक कम्पनी स्थापना गर्ने तयारी गरेको छ ।

नाफामूलक कम्पनीको सेयरमा लगानी गर्न सहकारी ऐनले नै बन्देज गरेकाले बचत संकलन गरेर आइपिओमा लगानी गर्नु कानुन विपरित भएको बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार बिक्रम पाण्डेले बताए । कानुन विपरित भएका सहकारीका यस्ता कार्यलाई छानबिन गरि कारबाहि गरिने पण्डेको भनाई छ ।

सहकारी संस्थाहरुले मापदण्डविपरित निजी बैँक तथा वित्तीय संस्थाको सेयरमा लगानी गरिरहेका छन् । सदस्यवाट बचत संकलन गरी सदस्यलाई मात्र ऋण लगानी गर्ने अनुमति पाएका बचत तथा ऋण र बहुद्देश्यीय सहकारीहरु सर्वसाधारणको बचतवाट बैँक, फाइनान्स, बीमालगायतको सेयर किनबेचमा संलग्न हुने गरेका छन् ।

हिलटप जुनार बहुउद्देश्यीय सहकारी स‌स्थाका प्रबन्ध सञ्चालक सुमन बिक्रम थापाले संस्था बचत स‌कलन गर्ने र त्यही रकम आइपिओ र बीमामा लगानी भने सदस्यको नामबाट नै गर्ने गरेको बताए । सदस्यको हितमा राखेर आफुले कार्यक्रम चलाएको र यसले कुनै हानी नगर्ने तर्क गरे ।

सदस्य संग बचत स‌कलन गरेर आइपिओमा लगानी गर्ने अनि कानुनले अप्ठ्यारो बनाएसी कम्पनीमा लगेर बैधानिकता दिन खोजेको हो ? भन्ने प्रश्नमा थापाले नीजि कम्पनी खोलेर आइपिओमा सहभागी भएकालाई कम्पनीमा ल्याएर काम गर्ने तयारी थालिएको स्विकार गरे । संस्थाले आइपिओ भर्ने सदस्यबाट बार्षिक रुपमा प्रति व्यक्ती २ देखि ३ हजार र बीमाको मात्र कार्यक्रममा सहभागी हुनेलाई आइपिओमा लिने सेवा शुल्कको आधा मात्रै लिदै आएको बताए ।

के छ कानुनमा ?

सदस्यको रकम संस्थाका अध्यक्षलगायत सञ्चालकले जथाभावी लगानी गर्दा सहकारी जोखिमसमेत बढ्दै गएको छ । सहकारी दर्ता तथा नियमन मापलदण्ड ०६८ ले सहकारीलाई निजी व्यवसाय, व्यापारिक र्फम वा कम्पनीको सेयर लगानी गर्न रोकेको छ । तर नियामक निकाय सहकारी विभागले प्रभावकारी अनुगमन गर्न नसक्दा उनीहरु प्राथमिक सेयरका साथै दोस्रो बजारमा समेत सेयर कारोबारमा संलग्न हुने गरेका छन् ।

यस्तै सहकारी ऐनमा भने सहकारी संस्थालाई बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाउने व्यवस्था छ । सहकारी ऐन २०७४ को दफा ५० (६) मा सहकारी संस्थाहरूले बचतको रकमबाट नेपाल सरकारले जारी गरेका ऋणपत्र वा सहकारी बैंक वा साना किसान लघुवित्त संस्थाको शेयर खरिद बाहेक अचल सम्पति खरिद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म कम्पनी वा अन्य कुनै प्रयोजनमा लगानी गर्न नपाईने व्यवस्था छ ।

सहकारी विभागले जारी गरेको सहकारी मापदण्ड २०६८ मा पनि सहकारी सेयरमा लगानी गर्न नपाउने व्यवस्था गरेको थियो । सहरी क्षेत्रका सहकारीहरूले चोरबाटोबाट सेयर बजारमा लगानी गर्दै आएको देखिए पनि नियामक निकायको फितलो अनुगमनका कारण समस्या भएको हो ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार १३:०७