आदूरदर्शी नीतिले बजार घट्यो, ८ खर्ब गुम्योः इन्भेष्टर्स फोरम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

आदूरदर्शी नीतिले बजार घट्यो, ८ खर्ब गुम्योः इन्भेष्टर्स फोरम



काठमाडौं । शेयर बजारका लागनीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरमले लगानीकर्ताहरुको ठूलो पुँजी गुमेको भन्दै नीतिगत सुधार गर्न सरकारसँग आग्रह गरेको छ ।

फोरमका अध्यक्ष तुलसीराम ढकालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई समस्यामा पार्ने खालका नीतिहरु पुनरावलोकन गर्न आग्रह गरेका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले शेयर धितोमा एक बैंक तथा वित्तीय संस्थाले ४ करोड भन्दा बढी दिन नमिल्ने नीति बनाएको छ । एक व्यक्तिले पनि जम्मा १२ करोड रुपैयाँ भन्दा बढी ऋण लिन समेत नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको नीतिका कारण बजारलाई निकै ठूलो असर गरेको फोरमको भनाइ छ । राष्ट्र बैंकको नीति आउनु अघि शेयर बजारको कुल पुँजीकरण ४४ अर्ब रुपैयाँ थियो । यो घटेर अहिले ३६ खर्ब हाराहारीमा झरेको छ ।

छाेटो समयमा लगानीकर्ताहरुले ८ खर्ब रुपैयाँ गुमाएको भन्दै फोरमले यथासक्दो नीतिगत सुधारहरु गर्न आग्रह गरेको छ । शेयर बजारलाई थप विस्वसनीय बनाउनका लागि भन्दै फोरमले ५ बुँदै माग अघि सारेको छ ।

जिम्मेवार निकायहरुको अदूरदर्शी नीतिका कारण आज मुलुकले गम्भीर रुपमा लगानीयोग्य पुँजी तथा तरलताको अभाव खेपिरहेको पनि विज्ञप्तिमा जनाइएको छ। सोही गलत नीतिका कारणले पुँजी बजारमा आपूर्ति बढ्न गएको तर आपूर्तिकै कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरुको पुँजीबजारप्रति हेर्ने दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकर्तामैत्री ऐनकानुनहरु नहुनु नै प्रमुख कारण रहेको फोरमको ठहर छ।

देशलाई समृद्ध बनाउन र सेयर बजारप्रति जनताको आकर्षण बढाउनका लागि तथा लगानी सुरक्षाको आभाष दिलाई सेयर बजार विश्वसनीयता बढाउनका लागि फोरमले विभिन्न माग अघि सारेको छ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति र एकीकृत निर्देशिकाले सेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट बढीमा ४ करोड र ३ वटा बैंक तथा वित्तीय संस्थाबाट १२ करोडको सीमा तोकेर लगानी गर्ने वातावरण निरुत्साहित गरेको कारण तत्काल यो नियम खारेज गर्न फोरमले माग गरेको छ।

नयाँ ब्रोकर संख्या थप गरी वाणिज्य बैंकहरुको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिई ती बैंकहरुको देशभरिका सबै शाखाहरुबाट कारोबार गर्ने सुविधा विस्तार गर्न पनि फोरमले माग गरेको छ। ‘ब्रोकरमार्फत हुने मार्जिन कर्जा यथाशीघ्र उपलब्ध गराइयोस्’, विज्ञप्तिमार्फत माग गरिएको छ।

हालको कारोबार हेर्दा ब्रोकर कमिसन अत्यन्त महँगो भएको हुनाले समयसाक्षेप अविलम्ब समायोजन गर्नुपर्ने माग पनि फोरमले अघि सारेको छ।

लामो समयदेखि नेपाल धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन रहेकोले तत्काल योग्य व्यक्तिलाई नियुक्ति गरी लगानीकर्ताको समस्या समाधान गर्न पनि फोरमले सरकारसमक्ष माग गरेको छ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार १५:२२