धितोपत्र बोर्डको अनावश्यक चलखेल गरेर बजार घटायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

धितोपत्र बोर्डको अनावश्यक चलखेल गरेर बजार घटायो



share-investor-organization-696x440काठमाडौं, २४ साउन । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड विरुद्ध लगानीकर्ताले निकै आक्रोश पोखेका छन् । नेपाल धितोपत्र बोर्डले अनावश्यक चलखेल गरेर बजार घटाएको आरोप लगानीकर्ताले लगाएका छन् । आइतबार शेयर लगानीकर्ता संघको समिति घोषणा सभामा बोल्ने लगानीकर्ताहरुले यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै हाथवे इनभेष्टमेन्टका अध्यक्ष अम्बिका पौंडलले शेयरको बजार मुल्य घट्नु र बढ्नु नियमित प्रकृया भएको बताए । उनले यस नियमलाई कोही कसैले परिवर्तन गर्न नसक्ने भएपनि पछिल्लो समयमा बजार घटाउन धितोपत्र बोर्डले अनावश्यक चलखेल गरेको आरोप लगाए । उनले बोर्डका जिम्मेवार व्यक्तिहरुले बजारमा आएको लगानीको रकमलाई कालो र सेता धन भनेर व्याख्या गर्ने कुनै अधिकार नभएको प्रस्ट पारे । उनले अहिले वित्तिय संस्थामा प्रशस्त तरलता रहेको र लगानीको अन्य विकल्प पनि नभएकोले शेयरमा लगानी बढेको बताए ।

त्यस्तै नवगठित संघका कानुनी सल्लाहाकार तथा लगानीकर्ता ज्योती दाहालले धितोपत्रको कामकर्तव्यबारे प्रश्न उठाउँदै बोर्डले लगानीकर्ताको हितमा भन्दा पनि कम्पनीहरुको हित हुने काम गरेको आरोप लगाए । उनले बोर्डले कालो धनको विषयमा छानबिन गर्न समिति गठन गरेको प्रति लक्ष्यित गर्दै भने, ‘कालोधन हेर्ने काम धितोपत्र बोर्डको होइन, यसका लागि अख्तियार र सम्पत्ति शुद्धिकरण विभाग छन् ।’ उनले थपे ‘बोर्डले लगानीको वातावरण बनाउने र कम्पनीको गुड गर्भनेश हेर्ने हो ।’

त्यस्तै अर्का लगानीकर्ता दिलिप श्रेष्ठले लगानीको अन्य विकल्प नहुँदा लगानीकर्ता शेयरमा आकर्षित भएको धारणा राख्दै लगानीका लागि ब्याजदरले प्रभाव पार्ने बताए । उनले बैंकमा अत्याधिक तरलता हुँदा कम ब्याजदरमा नै कर्जा पाइने र शेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिंदा लगानीकर्ताको आकर्षण रहेको बताए । उनले अहिलेको बजार घट्नुमा धितोपत्र बोर्डका जिम्मेवार व्यक्तिबाट आएको गैरजिम्मेवार अभिव्यक्ति भएको बताए । सरकार परिवर्तनको मौकामा बोर्डले अनावश्यक चलखेल गरी बजार घटाउन लागि परेको उनको आरोप छ ।

अर्का लगानीकर्ता दिपक कार्कीले बोर्डले चलखेल गरेर बजार घटाएको आरोप लगाए ।

चलचित्र निर्माता तथा शेयर लगानीकर्ता उज्जवल घिमिरेले लगानीकर्तालाई आश्वास्त पार्दै आजको लगानी नोक्सानमा नजाने प्रस्ट पारे । शेयर बजारको विकल्प ब्याज बजार भएको भन्दै उनले राजनीतिक हल्ला वा अन्य विषय बजार घट्नु र बढ्नुमा गौण भएको धारणा राखे ।

को को छन्

सो भेलाले उत्तम अर्यालको अध्यक्षतामा ११ सदस्यीय ‘शेयर लगानीकर्ता संघ’ गठन गरेको छ । संघको उपाध्यक्षमा ताराप्रसाद फुल्लेल, महासचिवमा नवराज सुवेदी, कोषाध्यक्षमा मोहनबहादुर बस्नेत छन् । त्यस्तै सदस्यहरूमा अमर डंगोल, हरिसुदन दाहाल, युजन बजिमय, निर्मलकुमार तुलाधर, किरण कार्की, गौरीशंकर थापा र जीवनबहादुर क्षेत्री रहेका छन् ।को थियो ।

प्रकाशित : २४ श्रावण २०७३, सोमबार ०७:०३