को हुन सहकारी मन्त्री शशि श्रेष्ठ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

को हुन सहकारी मन्त्री शशि श्रेष्ठ ?



काठमाडौं । माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले आफ्नी पत्नीलाई मन्त्री बनाएर रेकर्ड राखेका छन् ।

शुक्रबार बिस्तार भएको मन्त्रिपरिषदमा पोखरेलकी पत्नी शशि श्रेष्ठलाई भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बनाएका हुन् । माओवादी हुनुभन्दा अगाडि उनी तत्कालीन राष्ट्रिय जनमोर्चा नेपालमा थिइन् ।

माओवादीमा श्रेष्ठ अवसर पाउने महिलामा अगाडि छिन् । समानुपातिक सांसद बनेकी श्रेष्ठ प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति समेत थिइन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठसँग निकट रहेका पोखरेलले पत्नीलाई मन्त्री बनाउन जोडजुलुम गरेको चर्चा छ ।


काभ्रे जिल्लाको मंगलटार बजारमा जन्मिएकी शशी श्रेष्ठ काठमाडौंबाट नेकपाकी प्रतिनिधिसभा सदस्य हुन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी श्रेष्ठ अहिले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य छिन् । २०३४ सालदेखि औपचारिक रूपमा पार्टीमा आबद्ध भएकी श्रेष्ठ २०३६ सालदेखि पूर्णकालीन सदस्य भएर पार्टीमा सक्रिय भइन् ।

अखिल नेपाल महिला संघ (२०४०–२०५९) को अध्यक्ष, लोकतान्त्रिक गणतन्त्रका लागि महिला मञ्चको संस्थापक संयोजक (२०५९), पोलिट ब्युरो सदस्य–एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २०७१, महिला विभाग प्रमुख–एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी), २०७२ लगायत दर्जनौं जिम्मेवार पदमा रहेर श्रेष्ठले महत्वपूर्ण भूमिका निभाएकी छन् ।

पञ्चायती व्यवस्थाको अन्त्य, राष्ट्रियता, महँगी जनजीविका लगायत विभिन्न समयमा सञ्चालन भएका राजनीतिक एवं महिला आन्दोलनको नेतृत्व गरेकी श्रेष्ठ महिला सुरक्षा दबाब समूह, अन्तर पार्टी महिला सञ्जाल लगायत अनेक महिलाको साझा सञ्जाल तथा समिति स्थापना गर्ने नेतृत्व एवम् पहलकर्तामध्ये एक सशक्त हस्ती हुन् ।

राजनीतिक संघर्षको दौडानमा २०३६ सालमा पहिलो पटक श्रेष्ठमाथि वारेन्ट जारी भएको थियो । २०३८ र २०४२ सालमा जेल परेकी श्रेष्ठले २०३६ देखि २०६२÷६३ सालसम्म पटकपटक भूमिगत जीवन, कयौं पटक छोटो र लामो समयको कस्टडी बेहोरेकी छन् । श्रेष्ठका महिला केन्द्रित थुप्रै कार्यपत्र, शोधपत्र तथा लेखरचना प्रकाशित छन् ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार १८:४७