सहकारीले थाल्यो बाँझो जमिनमा एकीकृत कृषि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीले थाल्यो बाँझो जमिनमा एकीकृत कृषि



बागलुङ । गाउँमा उत्पादनशील जमिन बाँझो हुने क्रम बढ्दै गएपछि बागलुङको एक सहकारीले बाँझो जमिन भाडामा लिएर एकीकृत कृषि सुरु गरेको छ ।

बागलुङ नगरपालिका–११ रायडाँडामा सञ्चालित जैविक साना किसान कृषि सहकारीले करिब चार सय रोपनी जग्गा २० वर्षलाई भाडामा लिएर बाख्रा, कुखुरा पालन तथा फलफूल र तरकारी खेती गर्न थालेको हो ।

सहकारीले रायडाँडाको नागढुङ्गामा बाख्रा पालन सुरु गरेको सहकारीका व्यवस्थापक मिलन केसीले जानकारी दिए । स्थानीय बसाइँसराई पछि खाली भएको जमिन र गोठ प्रयोग गरी उक्त क्षेत्रमा ८० वटा बाख्रा पालन थालिएको छ । बाख्रा पालनमा मात्र करिब १२ लाख रुपैयाँ लगानी गरेको थापाले बताए । बाख्रासँगै २५० वटा स्थानीय जातका कुखुरा पालन गरिएको छ ।

सहकारीले वृहत उद्देश्यका साथ आफ्नो योजना कार्यान्वयनतर्फ अग्रसर भएको छ । एक घर एक सेयर सदस्य भन्ने नाराका साथ सुरु भएको अभियानमा प्रत्येक सेयर सदस्य उत्पादनसँग जोडिने छन् । सेयर सदस्यले व्यक्तिगत तथा सामूहिक रुपमा उत्पादन गरेका कुनै पनि कृषि उपज संकलन गरी विक्रीको प्रबन्ध सहकारीले गरेको छ । गाउँको उत्पादन बागलुङ बजारमा विक्रीको लागि सहकारीले जैविक विक्री केन्द्र सञ्चालन गरेको छ ।

बजारमा विक्री भएको कृषि उपजको पैसा सेयर सददस्यको खातामा जम्मा गरिदिने गरेको प्रबन्धक केसीले बताए । आवश्यकताअनुसार कृषक उत्पादन दिने र कृषकलाई चाहिने बिउ, मल, बिषादीको खरीद तथा ढुवानी सहकारीले गर्दै आएको छ ।

दीर्घकालीन लक्ष्यअनुसार सहकारीले डिभिजन वन कार्यालयसँगको समन्वयमा हाल ६ हजार पाँच सय मसलेदार टिमुरको विरुवा रोप्नको लागि खाडल तयार गरेको छ । टिमुरको विरुवा पनि उपलब्ध भएको छ । गाउँमा बाँझो जमिन बढ्दै जान थालेपछि त्यसको व्यवस्थापन गर्न सहकारीले जिम्मेवारी दिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

सहकारीले सुन्तला, फर्सी, खुर्सानीको व्यवसायिक उत्पादनको लागि कार्य योजना तयार गरेको छ । हाल बाख्रा फर्ममा तीन जना, विक्री केन्द्रमा एक जना र सहकारी व्यवस्थापनतर्फ दुई गरी ६ जनालाई रोजगारी दिएको छ । सहकारीमा ४४७ जना सेयर सदस्य छन् । प्रबन्धक केसीकाअनुसार ४० लाख रुपैयाँ सेयर पुँजी छ । जग्गाधनीलाई दिनुपर्ने भाडाको रकमलाई सेयरमा रुपान्तरण गरिएको छ ।

प्रकाशित : २३ आश्विन २०७८, शनिबार २०:३९