गण्डकी साक्षर प्रदेश घोषणा, देउवाले भने- प्रजातन्त्रको मास्ने सपना नदेखे हुन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गण्डकी साक्षर प्रदेश घोषणा, देउवाले भने- प्रजातन्त्रको मास्ने सपना नदेखे हुन्छ



पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रकाे विकल्प अरु कुनै व्यवस्था नभएको बताएका छन् । ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले अरु किसिमको सपना नदेखे हुन्छ,’ गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै आइतबार उनले भने, ‘हामी प्रजातन्त्रका लागि लडेको पार्टी हो । यसको विकल्प अरु हुन सक्दैन ।’

नयाँ सरकार गठन र त्यसपछिका घटनालाई लिएर विपक्षीले गरेको आलोचनामा भने उनले निर्वाचनले त्यसको परिणाम देखाउने बताए ।

‘सबैले जनादेशको कुरा गरेका छन् । जनताको नाम सबैले लिन्छन् । जनताले को ठिक छ भनेर भोटमा देखाई हाल्छन् नि,’ उनले भने । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले देशमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘अझै पूर्ण रूपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ । विकास निर्माणका काम अगाडी बढाउनु छ । मलाई विश्वास छ, यो पूरा हुन्छ,’ उनले थपे ।

उनले कोभिड नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हात पारेको दाबी गरे । ‘अहिले नेपाल कोभिडको महामारीबाट अझैपनि कठिन समय बिताइरहेको छ । तर हाम्रो व्यवस्थापनप्रति खुसी भएर अन्तराष्ट्रिय जगतले, विशेषतः विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यवाद र बधाई दिएको छ,’ उनले भने, ‘नेपाल सरकारले पनि रातदिन काम गरिरहेको छ । नेपालले कन्ट्रोल गरेका कारण अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको हो । यो महत्वपूर्ण उपलब्धिको रूपमा हामीले लिएका छौं ।’

प्रकाशित : २४ आश्विन २०७८, आईतवार १४:१३