अनुगमनमा फेला पर्‍यो ६ वर्ष पुरानो चकलेट, ४ वर्ष पुरानो कोल्ड ड्रिक्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अनुगमनमा फेला पर्‍यो ६ वर्ष पुरानो चकलेट, ४ वर्ष पुरानो कोल्ड ड्रिक्स



कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बजार अनुगमनका क्रममा वर्षौं पुराना खाद्यवस्तु फेला परेको छन् । चाडपर्व लक्षित गरी आइतबार नगरपालिकाको वडा नं. ५ प्रेमनगर र वडा नं. १० को विजगौरीबाट म्याद गएका सामग्री बरामद गरी नष्ट गरेको छ ।

नगरपालिकाका नगर उपप्रमुख मिरा चौधरीको नेतृत्वमा भएको अनुगमन टोलीले म्याद नाघेका प्याकेटमा राखिएका पत्रु खाजा (जङ्क फुड), पेय पदार्थ, मसला, तेल, चकलेट, चिप्सलगायतका वस्तु बरामद गरेको हो ।

आइतबार बिहान ८ बजेदेखि पालिकाको ग्रामीण भेगका पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा ४ वर्ष पुरानो कुहिएको चिसो पेय पदार्थसमेत भेटिएको छ । माउन्टेन ड्यु, फेन्सी, मेन्सन ड्यु, कोकाकोला, प्रान जुस र भारतीय उत्पादनसमेत बरामद गरिएको छ । ९ महिनामात्र म्याद हुने ती वस्तु विक्री गर्न सजाएर राखेको अवस्थामा फेला परेको बुद्धभूमि नगरपालिकाका उद्योग वाणिज्य तथा सहकारी फाँटका अधिकृत विजय भुसालले बताए । 

यसैगरी सन् २०१५ मा उत्पादन भएका चकलेटसमेत जफत गरिएको छ । म्याद नाघेका सेन्टर फिलीज, पावर ब्रान्डका चकलेट, आचिता दालमोठ, सुदूर कम्पनीका बिस्कुटसमेत बरामद गरिएको छ ।

एक वर्षको प्रयोग समय अवधि भए पनि ती चकलेट बिक्रीका लागि सजाएर राखिएका थिए । भारतमा उत्पादन भएका बालबालिका लक्षित गरी उत्पादन भएका प्याकेटमा राखिएका धेरै सामग्री म्याद गुज्रिएका फेला परेका थिए ।

ग्रामीण भेगका चोकमा रहेका पसलको अनुगमन गर्दा म्याद गुज्रिएर कुहिएका वस्तुसमेत फेला परेको छ । नगरपालिकाले दशैँसम्म हरेक वडाको पसलमा पुगेर छड्के अनुगमन गर्ने कार्य तालिका बनाई अनुगमन सञ्चालन गरेको छ । पालिकाले बजार अनुगमन सुरु गरेपछि केही पसल बन्द गरी व्यापारी भागेका थिए । 

बुद्धभूमि नगरपालिकाले पालिकाभित्रका किराना पसलमा अनुगमन गर्दा फेला परेका म्याद गुज्रेका खाद्यवस्तु । तस्बिर : न्युज कारखाना 

प्रकाशित : २४ आश्विन २०७८, आईतवार १७:३७