मुख्य समाचार

न्यादी हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने



काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यसको प्रि-अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आईपीओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो ।
 
न्यादी हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् । आईपीओ गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।
 
यसमा कुल २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । यो मागको तुलनामा १४ दशमलव ०८ गुणा बढी हो । यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको २० लाख ९२ हजार ५०० कित्तालाई आधार मान्दा २ लाख ९ हजार २५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । त्यस्तै, २१ लाख ४७ हजारभन्दा बढीको हात खाली हुनेछ ।
 
कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि खुला गरिएको थियो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आईपीओलाई औसत आधार जनाउने ‘केयर एनपी आईआर डबल बी’ रेटिङ दिएको छ ।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार १९:१२