सहकारीमा मर्जको लहरः तिलोत्तमाका चार सहकारी एक भए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारीमा मर्जको लहरः तिलोत्तमाका चार सहकारी एक भए



बुटवल । रुपन्देहीको तिलोत्तमामा चारवटा सहकारी संस्थाहरु एकीकरण (मर्ज) भएका छन् । चारैवटा सहकारी संस्थाले शनिबार संयुक्त भेला गर्दै एकीकृत भएको घोषणा गरेका हुन् ।

सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मणिप्रभा बचत तथा ऋण सहकारी, सूर्यकिरण बचत तथा ऋण सहकारी र द्रव्यान्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकीकृत भएका हुन् । एकीकरणपछिको नाम सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था राखिएको छ ।

एकीकरणपछि सहकारीका शेयर सदस्य ९ हजार ६८८, शेयर पुँजी ३० करोड १५ लाख ८२ हजार, बचत २ अर्व ३३ करोड ९१ लाख ४५ हजार ३८७ रुपैयाँ, जगेडा कोष १७ करोड ५७ लाख २६ हजार २७१ र अन्य कोष १३ करोड ९५ लाख ६० हजार ३३३ रुपैयाँ पुगेको छ ।

एकीकरण घोषणासँगै एकीकृत कारोबार पनि सुरु भएको छ । एकीकरणपछि तीन महिनाभित्र साधारणसभा गर्ने गरी तदर्थ सञ्चालक समितिको निर्माण गरिएको छ । सञ्चालक समितिमा साविक सामूहिकमा रहेका १५ जनाका साथै मणिप्रभा, सूर्यकिरण र द्रव्यान्जलीबाट २–२ जना राखिएको छ ।

तदर्थ सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रकुमार बर्मा रहेका छन् भने उपाध्यक्षमा लक्ष्मण ज्ञवाली, सचिवमा मिनप्रसाद पोखरेल, कोषाध्यक्षमा माया घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा कमला ज्ञवाली, गंगा खरेल, टेकराज भण्डारी, नेत्रलाल बन, विष्णुहरि पन्थी, भूमिलाल सापकोटा, भुवनेश्वर अर्याल, मिना भण्डारी, राजकुमार गिरी रेश्मीराज पाण्डे, हिरामाया थापा रहेका छन् ।

त्यस्तै मणिप्रभाबाट दिनेश फुल्लेल र विमला ज्ञवाली, सूर्यकिरणबाट मानबहादुर बर्मा र झविन्द्र भण्डारी, द्रव्यान्जलीबाट हरिप्रसाद पौडेल र तिलकुमारी सुनार तदर्थ समितिमा रहेका छन् । कृष्ण नेपाल संयोजक र पार्थमणि आचार्य एवं युवराज न्यौपाने सदस्य रहेको निर्वाचन उपसमितिले तदर्थ समितिको नाम घोषणा गरेको थियो ।
त्यस्तै लक्ष्मण अर्यालको संयोजकत्वमा नरेन्द्रप्रसाद पाण्डे र शारदा भण्डारी सदस्य रहेको लेखा समिति गठन गरिएको छ भने साविकका चारवटै संस्थाका अध्यक्ष रहने गरी विवाद समाधान उपसमिति बनाइएको छ ।

एकीकरणका लागि सुरेन्द्र बर्माको संयोजकत्वमा बनाइएको कार्यदलले सम्पूर्ण प्रक्रिया पूरा गरी एकीकरण भेलाको आयोजना गरिएको थियो । भेलाको उदघाटन गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सहकारी तथा गरिबी निवारण शाखा प्रमुख ज्ञानहरी पन्थीले एकीकरण गर्दा सबै सहकारीमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्नुपर्ने र साविकका सहकारी संस्थाका कार्यालयलाई सेवा केन्द्रका रुपमा सञ्चालन गर्न सकिने व्यवस्थाको बारेमा जानकारी गराए ।

सहकारीबीच एकीकरणलाई सरकारले पनि प्राथमिकता दिएको उल्लेख गर्दै पन्थीले यो एकीकरणले लुम्बिनी प्रदेशमात्र नभइ देशभर सकारात्मक सन्देश दिने बताए । लुम्बिनी प्रदेशमा एकीकरण अभियान उत्साहजनक रहेको पन्थीले बताए ।

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले सहकारी संस्थाको दिगो विकास र सुदृढीकरण, आर्थिक सुशासनका लागि पनि एकीकरण आवश्यक रहेको बताए ।

एकीकरण कार्यदलको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक सुरेन्द्रकुमार बर्माले यसले सहकारी क्षेत्रलाई आत्मनिर्भरताको सन्देश दिएको बताए । एकीकरण कार्यदलका सदस्य हरिप्रसाद पौडेलले सहकारीबीचको एकीकरणले संस्थाको सबलीकरण र आर्थिक सुशासनमा समेत टेवा पुग्ने बताए ।

प्रकाशित : १४ कार्तिक २०७८, आईतवार ११:५९