बीमकको नयाँ संस्थागत सुशासन : सञ्चालक र सीईओको लागि यस्तो छ व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बीमकको नयाँ संस्थागत सुशासन : सञ्चालक र सीईओको लागि यस्तो छ व्यवस्था



काठमाडौं, १ भदौं  । बीमा समितिले हिजो साउन ३२ गते बिमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७३ जारी गरेको छ । समितिले जारी गरेको निर्देशिकाले सञ्चालकको अधिकत्तम दुई कार्यकाल रहने व्यवस्था गरेको छ । चार वर्ष अवधिको एक कार्यकाल रहने सञ्चालकले अब दोस्रो पटक पनि सञ्चालक बन्न पाउँने छन् । यो निर्देशिका जारी भएसंगै निरन्तर सञ्चालक बन्ने परिपाटी भने हट्ने भएको छ ।

त्यसैगरी, निर्देशिकाले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको तलब संस्थामा सबैभन्दा कम तलब खाने कर्मचारीको  तलबभन्दा अधिकत्तम २५ गुणासम्म हुन सक्ने व्यवस्था गरेको छ । यसको लागि औचित्य पुष्टि गर्नुपर्ने हुन्छ । यसअघि यस्तो अन्तर १५ गुणासम्म हुनसक्ने व्यवस्था थियो । यसअघि बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०६९ प्रचलनमा थियो ।

सञ्चालकहरुको एकाघर परिवारको स्वामित्वमा रहेको वा उनीहरुको फर्म, कम्पनीसंग घर भाडामा लिएर कारोबार गर्न नपाइने गरि निर्देशिकाले बन्देज पनि लगाएको छ । सञ्चालकले पद छाडेको एक वर्षसम्म सोही संस्थाको शेयर, डिवेञ्चर किनबेच गर्न नपाउने भएका छन् । सञ्चालकको पद खाली भएको ३५ दिन भित्र नयाँ नियुक्ति हुनु पर्ने समेत व्यवस्था नयाँ निर्देशिकाले गरेको छ ।

प्रमुख कार्यकारी अधिकृतले कम्पनीको कामले विदेश भ्रमण गर्नुपरेमा पनि सञ्चालक समितिको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव अलग /अलग हुनु पर्ने व्यवस्था पनि गरिएको छ ।प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको तीन महिनाभित्रमा नयाँ अधिकृत नियुक्त गर्नुपर्ने व्यवस्थालाई निर्देशिकाले लिपिबद्ध गरेको छ । यसअघि यो व्यवस्था  निर्देशनको रुपमा आएको थियो । त्यसैगरी, अब बीमा कम्पनीको सीईओ हुन पनि यस क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव भए पुग्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो अनुभव १० बर्षको हुनु पर्ने व्यवस्था थियो ।

प्रकाशित : १ भाद्र २०७३, बुधबार १२:१५