योग गर्ने कि जिम जाने? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

योग गर्ने कि जिम जाने?



काठमाडौं । मानिसको मांसपेशी–प्रणाली असाधारण छ । हाम्रा मांसपेशीहरूले अद्भुत काम गर्न सक्छन् । मांसपेशीहरूले काम गर्ने क्षमतालाई बढाउन तिनलाई बलियो एवं एकदमै लचिलो राख्नुपर्ने हुन्छ । यदि तपाईंले भारी तौल उचाल्ने व्यायाम गर्नुभयो भने, तपाईंका मांसपेशीहरू ठूला देखिन्छन्, तर तिनमा लचिलोपन हुँदैन । तपाईंले ठूला–ठूला मांसपेशीका गाँठागुँठी भएका मानिसहरूलाई ध्यान दिन सक्नुहुन्छ, उनीहरू राम्रोसँग नमस्कार गर्न सक्दैनन् ! उनीहरू निहुरिन समेत सक्दैनन् ।

यदि तपाईं राम्रो देखिनको लागि ठूला मांसपेशीहरू चाहनुहुन्छ भने, अचेल त्यसको लागि सजिलो तरिकाहरू छन् । तपाईं पाखुरा (बाइसेप्स) प्रत्यारोपण गराउन सक्नुहुन्छ । सिलिकन स्तन बढाउन मात्रै प्रयोग हुँदैन— यसलाई पाखुरा वा पिँडौलाको मासुमा वा अन्यत्र पनि प्रयोग गर्न सकिन्छ । त्यो व्यर्थको भएपनि त्यसले केही फरक पार्दैन । कम्तीमा तपाईंले कडा परिश्रम गर्नुपर्दैन, कर्टिसोन्स र हर्मोन जस्ता औषधिहरू लिनुपर्दैन अनि गह्रौँ फलाम उचाल्न समेत पर्दैन । यदि तपाईंको चाहना राम्रो देखिनु मात्रै हो भने, धेरै सरल तरिकाहरू छन् ।

अवश्य पनि, मांसपेशीलाई ठूलो र बलियो बनाउने प्रक्रियामा तपाईंले भरपूर बल प्राप्त गर्नुहुन्छ । तर, तपाईं पूर्णतया फरक तरिकाले आफूलाई बलवान् बनाउन सक्नुहुन्छ, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने शरीरलाई लचिलो राख्नु अपरिहार्य छ । स्वास्थ्य, ऊर्जा र मनको स्तरमा साथै आध्यात्मिक आयामको सन्दर्भमा खुसियालीका विभिन्न पक्षहरू हुन्छन् । जब हामी बिहान आधा घण्टादेखि एक घण्टा समय आफ्नो लागि खर्चिन्छौँ, हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि यसबाट हाम्रो पूरै शरीरमा चौतर्फी लाभ होस्, न कि केही मांसपेशीहरूमा मात्र ।

यदि तपाईं मांसपेशी बढाउन चाहनुहुन्छ भने, के तपाईंले फलाम उठाउनु हुँदैन ? तपाईं त्यसो गर्न सक्नुहुन्छ, किनकि आधुनिक प्रविधिको विकासले हाम्रो जीवनबाट व्यायाम र शारीरिक गतिविधिलाई खोसिदिएको छ । सबैथोक मेसिनले गर्दछन् । अचेल तपाईंले आइफोन बाहेक खासै अरू केही पनि बोक्नु नपर्ने भएको छ । पूरै दिनभरि तपाईं शरीरका अङ्गहरूलाई प्रयोग नै गर्नुहुन्न, त्यसैले हलुका शारीरिक परिश्रम गर्नु ठीक हो ।

योग– यो व्यायाम होइन !

योग भनेको व्यायाम होइन । यसका अन्य धेरै आयामहरू छन् । योगलाई कुनै व्यायाम वा कसरतको रूपमा सीमित गर्नु गम्भीर अपराध हुनेछ । तर, हामी सरल अभ्यास गर्न सक्छौँ, जसलाई उप-योग भनिन्छ । यिनमा कुनै आध्यात्मिक आयाम जोडिएको हुँदैन । यदि तपाईंले उप-योग वा अङ्गमर्दन अभ्यास गर्नुभयो भने, निश्चय पनि तपाईं शारीरिक रूपमा तन्दुरुस्त रहनुहुन्छ । साथै, तपाईंलाई कुनै उपकरण पनि चाहिँदैन- भुइँमा ६ x ६ फूटको खाली स्थान भए पुग्छ ।

तपाईं पूर्ण रूपमा तन्दुरुस्त रहनुहुनेछ, अनि तपाईं आफ्नो मांसपेशी र अरू कुराहरूलाई सुदृढ बनाउन सक्नुहुन्छ । अङ्गमर्दन र उप-योगका सम्पूर्ण अभ्यासहरूमा तपाईंको आफ्नै शरीरको तौल प्रयोग गरिन्छ । तब, तपाईंले आफ्नो वरपर जिम छैन भनेर बहाना गर्न पाउनुहुन्न । तपाईं जहाँसुकै भएपनि यो अभ्यास गर्न सक्नुहुन्छ, किनकि तपाईंसँग आफ्नो शरीर छ ! शरीरलाई सुदृढ बनाउनको लागि जिममा तौल उठाउने अभ्यासहरूको तुलनामा यी अभ्यासहरू त्यति नै प्रभावकारी छन् ।

यसले तपाईंलाई समझदार व्यक्तिको रूपमा प्रस्तुत त गर्छ नै, साथै तपाईंको शारीरिक प्रणालीमा कुनै अनावश्यक तनाव सृजना नगरिकन तपाईंलाई धेरै बलियो पनि बनाउँछ । अनि, यो चाहिँ पक्का छ कि तपाईं थुपारिएको मासुको डल्लो जस्तो देखिनुहुन्न । थुप्रै मानिसहरू थुपारिएको त्यस्तै बनेका छन् । उनीहरू आफूलाई तन्दुरुस्त ठान्छन्, तर मलाई लाग्छ कि उनीहरू अरट्ठ परेका छन् ! तपाईंको शारीरिक प्रणालीले उचित रूपमा काम गर्नको लागि मांसपेशीको थुप्रो र तागत भन्दा पनि तपाईंको शरीरमा लचिलोपन हुनु बढी महत्त्वपूर्ण हुन्छ ।

योगमा, हामी मांसपेशीहरूको शक्तिलाई मात्र महत्त्व दिँदैनौँ । शरीरका प्रत्येक अङ्गहरू स्वस्थ हुनु पनि असाध्यै महत्त्वपूर्ण छ । योग पद्धतिमा शरीरका अङ्गहरूलाई स्वस्थ राख्नको लागि विशेष ध्यान दिइन्छ । भलै, तपाईले ठूल्ठूला मांसपेशी बनाउनुभयो भनेपनि, यदि तपाईंको कलेजोले राम्रोसँग काम गरीरहेको छैन भने, त्यो मांसपेशीको के काम ? शरीर लचिलो र प्रयोग गर्न सकिने हुनु असाध्यै महत्त्वपूर्ण छ । शरीरका अङ्गहरू आरामदायी स्थितिमा हुनु अपरिहार्य छ ।

एउटा पक्ष के हो भने, शरीरका अधिकांश महत्वपूर्ण अङ्गहरू छाती र पेटको भागमा हुन्छन् । यी अङ्गहरू न त कडा छन्, न त नट–बोल्ट द्वारा कसिएका । तिनीहरू कुनै जालोमा झुण्डिए जसरी खुकुलो रूपमा रहेका हुन्छन् । यदि तपाईंले आफ्नो मेरुद्दण्ड सिधा राखेर बस्नुभयो भनेमात्र, यी अङ्गहरू सबैभन्दा आरामदायी अवस्थामा रहने छन् । तर, अहिलेको समयमा आराम गर्नु भनेको पछाडि ढल्किने वा गुटमुटिएर बस्नु भनेर बुझिएको छ । यदि तपाईं त्यसरी बस्नुभयो भने, तपाईंका अङ्गहरू कहिल्यै पनि आरामदायी अवस्थामा रहने छैनन् । साथै, तिनले जसरी काम गर्नुपर्ने हो, त्यसरी काम गर्न सक्दैनन् ।

शरीरलाई सिधा राख्नुको आशय हामीलाई आराम पर्दैन भन्ने होइन । हामी यसकारण शरीरलाई सिधा राख्छौँ, किनकि हामीले आरामपूर्ण अवस्थालाई पूर्णतया फरक रूपमा बुझेका छौँ अनि अनुभव गरेका छौँ । तपाईं आफ्नो मेरुद्दण्डलाई सिधा राखेर मांसपेशीहरूलाई आरामपूर्ण स्थितिमा रहने बनाउन सक्नुहुन्छ । तर, तपाईं ढल्किएर वा कुप्रो परेर आफ्ना अङ्गहरूलाई आरामपूर्ण अवस्थामा रहने बनाउन सक्नुहुन्न । यो कदापि सम्भव छैन । अत: हामी आफ्नो शरीरलाई सिधा बस्ने बनाएका छौँ, ताकि हाम्रा अस्थिपञ्जर र मांसपेशीहरूको प्रणाली आरामदायी अवस्थामा रहून् ।

योग–अस्तित्व खोल्ने प्रक्रिया
योग, पातलो हुन वा आफ्नो ढाड र टाउको दुखाइबाट छुटकारा पाउन गरिने अभ्यास होइन । योगको अभ्यासले तपाईं यसैपनि स्वस्थ र शान्त बन्नुहुन्छ, तर यी योगका राम्रा असरहरू मात्र हुन्, योगको मुख्य लक्ष्य भने होइनन् । तौल घटाउन वा स्वस्थ रहनको निम्ति तपाईंले योग गर्नुपर्दैन, बरु तपाईंले समझदार भएर खानुपर्छ, अनि टेनिस वा पौडी खेल्नुपर्छ । योगको ध्येय तपाईंभित्र यस्तो आयामलाई जीवन्त बनाउनु हो, जुन भौतिकभन्दा पर छ ।

तपाईंभित्र भौतिकभन्दा परको आयाम उजागर भयो भनेमात्र, अस्तित्व बिस्तारै तपाईंसामु लाखौँ रूपहरूमा प्रकट हुन्छ । जुन चिजहरू अस्तित्वमा छन् भनेर तपाईंले कहिल्यै कल्पना समेत गर्नुभएको छैन, ती तपाईंको निम्ति वास्तविक बन्दछन्, किनकि भौतिकभन्दा परको आयाम जीवन्त बनेको हुन्छ ।

-सदगुरुको प्रवचनमा आधारित

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार १२:२७