गहुँको बिउ प्रशोधन गर्न सहकारीलाई भ्याइनभ्याइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गहुँको बिउ प्रशोधन गर्न सहकारीलाई भ्याइनभ्याइ



झापा । नेपाल कृषि प्रधान देश हो । तर, नेपालमा राम्रो बिउको अभाव हुँदा फलफूल, तरकारी, अनन्नबालीलगायतको बिउ भारतबाट आयत हुन्छ । तर, गहुँको बिउ भने भारत निर्यात हुने गरेको छ । अहिले गहुँ लगाउने सिजन हो । भारतबाट गहुँको बिउको अत्याधिक माग भएपछि बिउ प्रशोधन केन्द्रलाई बिउ प्रशोधन गर्न भ्याइनभ्याइ छ ।

कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहका अनुसार नेपाली गहुँको बिउ भारतमा अत्याधिक माग छ । ‘नेपाली गहुँको बिउ गुणस्तरीय हुन्छ । त्यसकारण पनि भारतमा अत्याधिक माग छ’, उनले भने, ‘भारतमा गहुँको रोटी खाने संस्कार एकदम छ । त्यसकारण खेती पनि धेरै हुन्छ । नेपाली बिउको पनि माग छ ।’

भारतबाट समेत गहुँको बिउको माग अधिक भएपछि झापाको गौरादहस्थित महारानीझोडा साना किसान सहकारी संस्थाले संचालन गरेको सामुदायिक बिउ प्रशोधन केन्द्रले अहिले धमाधम बिउ प्रशोधन गरिरहेको छ । गहुँको बिउको माग अत्याधिक भएका कारण अहिले बिउको बजारीकणको काम भइरहेको सामुदायिक बिउ प्रशोधन केन्द्रका व्यवस्थापक हेमराज विष्टले बताए ।

‘अरू बिउ भारतबाट आउँछ । तर, गहुँको बिउ भारतमा जाने भएकाले पनि माग उच्च छ’, उनले भने, ‘अब केही दिनभित्रमा बिउ निर्यात गर्नुपर्छ । त्यसकारण पनि अहिले प्रशोधन गर्न भ्याइनभ्याइ छ ।’

बिउ प्रशोधन केन्द्रले यो वर्ष विजय, गौतम, एनएल र आदित्य प्रजातिका एक सय मेट्रिकटन बिउ प्रशोधन गरेको उनले बताए । यद्यपि, झापामा भने गहुँको खेती बर्सेनि घट्दै गएको छ । किसानहरूले पनि भारतमा बिउको माग भएकाले बिउका लागि मात्र गहुँको खेती गर्ने गरेकोे नमुना एकीकृत खेती गौरादहका अध्यक्ष बेधनिधि चापागाईंले बताए ।

‘अहिले झापामा गहुँ खेती हुँदैन भन्ने अवस्था आउन लागेको छ । पहिला हामीले १५ बिघासम्म गहुँ खेती गर्थ्याैं’, उनले भने, ‘अहिले बिउ उत्पादनका लागि मात्र गर्दै छौँ । कृषि अनुसन्धान केन्द्र तरहराले बिउ दिएका कारण मात्र यो पनि गरेका हौँ नभए गरिँदैन थियो ।’ कृषिज्ञान केन्द्र झापाका अनुसार जिल्लाको गौरादह क्षेत्रमा धेरै गहुँ उत्पादन हुँदै आएको छ ।

ज्ञान केन्द्रका अनुसार झापामा अघिल्लो वर्ष सात हजार १२५ हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको थियो । जसमा साढे २० हजार मेट्रिकटन गहुँ उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । खेती घट्दै गएपछि बिउ उत्पादनमा समेत गिरावट आएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ । गहुँमा भन्दा अन्य खेती बालीमा राम्रो आम्दानी हुने भएकाले पनि गहुँ खेती विस्थापिन हुँदै गएको छ ।

‘गहुँ लगाउने उपयुक्त समय कात्तिकदेखि मंसिर पहिलो साता हो । गहुँ चार महिनामा पाक्छ । यो समयमा धान र मकै पनि हुन्छ । सबै ठाउँमा सिँचाइ सुविधा पुगेपछि झापामा हिउँदमा पनि धान नै उत्पादन हुँदै आएको छ, कि धान कि त हिउँदमा कृषकले मकै लगाउँछन्’, ज्ञान केन्द्र प्रमुख सिंहले भने, ‘नेपालमा रोटी खाने संस्कार पनि खासै छैन । त्यसकारण पनि गहुँको उत्पादन कम भएको हुनसक्छ ।’

प्रकाशित : ३० कार्तिक २०७८, मंगलवार १२:२३