मोबाइल बजार व्यवस्थित गर्न एमडिएमएस तत्काल लागु हुने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

मोबाइल बजार व्यवस्थित गर्न एमडिएमएस तत्काल लागु हुने घोषणा



काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका छन् । नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका हुन् ।


कार्यक्रममा बोल्दै उनले भने, ‘मैले अबैध रुपमा मोबाइल फोन आयात हुने विषयलाई व्यवस्थापन गर्न लागु हुने एमडिएमएसबारे हिजो मात्रै थाहा पाएँ । मैले हिजै तत्काल लागु गर्न निर्देशन दिइसकेको छ । तत्काल नै लागु हुन्छ ।’ तर, बैध रुपमै धेरै मोबाइल फोन आयात भइरहेको प्रसङ्ग कोट्याउँदै उनले भने, केलाई अबैध भन्ने हो ? यहाँ त बैध रुपमा अबैध आयात भइरहेको छ । मैले केही दिन अघिदेखि मन्त्रालयका अधिकारीलाई अबैध सुन आयातलाई अनुगमन गर्न विमानस्थलमा खटाएको छु । त्यहाँ दैनिक २० देखि २२ किलोग्राम अबैध सुन आयात भइरहेको छ । यसैगरी मोबाइल फोन पनि आयात भइरहेको रिर्पोट आएको छ ।’


उनले विदेशबाट बैधानिक रुपमा नै दैनिक हजारौं मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न भने कठिन रहेको बताए । उनले भने, ‘हामी रेमिट्यान्सले अर्थतन्त्र चलाइरहेका छौं । विदेशमा दुःख गरेर नेपाल फर्किनेहरुलाई एउटा फोन पनि ल्याउन नदिनु अन्याय हुन्छ । ल्याउन दिएमा यहाँ दर्ता हुँदैन । यो अली समस्या छ । यद्यपि व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ।’ विभिन्न देशहरुबाट २५ देखि ३० प्रतिशत मोबाइल फोन अबैध रुपमा आयात भइ बिक्री बितरण भइरहेको स्वीकार गर्दै मन्त्री शर्माले यसलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।


उनले मोबाइल मानिसको क्षमताभन्दा पनि अघि बढिसकेको बताउँदै प्रविधिसँगै मानिसको क्षमता पनि बृद्धि गर्नुपर्ने भएको बताए । उनले भने, ‘मोबाइल फोनले हाम्रो आवश्यकताअनुसार चल्न सहज भएको छ । यसमा कनेक्टिभी, सञ्चार, मनोरञ्जन, सूचना सबै चीज अटाएको छ । यो अत्यावश्यक बस्तु भएको छ । त्यसकारण पनि मोबाइलमा सरकारले कडाइ गर्न नै सक्दैन । बिलासिताको बस्तुभित्र मोबाइल फोन परे पनि यसमा कडाइ हुँदैन ढुक्क हुुनुस् ।’


उनले मोबाइलको कारण डिजिटल विश्व बनिसकेको र डिजिटल नेपाल निर्माणमा पनि मोबाइल फोनजस्ता डिभाइसको आवश्यकता छ रहेको बताउँदै यसबाट हुने बिकृत्तिबाट भने सबै बच्नुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मोबाइल फोनको अवैध आयात रोक्न सके अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए ।


उनले संसारलाई जोड्ने मोबाइल फोनबारे भने, अहिले संसारमा आविस्कारमध्ये सबैभन्दा प्रभावकारी दुइ वटा मात्रै छन् । एउटा हवाइ जहाज र अर्को मोबाइल फोन । हवाइजहाज र मोबाइलले नै संसारलाई एउटा घर बनाइदिएको छ । त्यसका कारण मोबाइल फोनलाई बिलासिता भन्नु नै गलत हो ।’ उनले अहिले मोबाइल फोन अबैध रुपमा आयात भइरहेको बताउँदै अर्थतन्त्रलाई व्यस्थित र औपचारिक रुपमा अघि बढाउनका लागि अबैध आयात रोक्नैपर्ने बताए । उनले अहिले पनि ८० प्रतिशत रोजगारी लगायत अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक रुपमा रहेको बताउयँदै यसलाई एक चरण सेरकारले नै औपचारिक बनाउन प्रस्ताव पनि गरे ।


यस्तै कार्यक्रममा बौल्दै व्यवसायी दीपक मल्होत्राले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न एमडिएमएस लागु गर्नु अनिवार्य सर्त भएको बताए । उनले भने, चालू आर्थिक वर्षको बजेट दस्तावेजमै समेटिएको विषय भएकाले एमडिएमएस लागु हुनेमा हामी ढुक्क थियौं । तर त्यसो हुन सकेन । अब बल्ल अर्थमन्त्री तात्नुभएको छ । लागु हुन्छ भन्ने विश्वास लागेको छ । मोबाइल बजार व्यस्थित गर्न यो अनिवार्य सर्त हो ।’


उनले बजारको अबैध कारोबारको सुरुवात क्यान्सर भाइरसजस्तै भएको बताउँदै समयमै काटेर नफाले क्यान्सर नै हुने खतरा बढेको बताए ।
व्यवसायी मल्होत्राले आफूले मोबाइल फोनको व्यवसाय सुरु गरेको २६ वर्ष वर्ष भएको प्रसङ्ग कोट्याउँदै भने, ‘मेरो त पहिचान नै मोबाइल व्यवसायी भइसकेको छ । अस्ति मात्रै मेरो जन्मदिनमा म मन्दिर गए । त्यहाँ पूजारीले नाम र थर सोधेपछि भने तपाई मोबाइलवाला हैन? मेरो पहिचान नै मोबाइल व्यवसाय हो ।’


यस्तै नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले मोबाइल फोन बिलासिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए । नेपाल बैंकर्श एशोसिएसनका पूर्व अध्यक्ष समेत रहेका शाहले भने ‘मोबाइल फोन बिलासिता होइन । यति लामो लकडाउनमा सूचना र सञ्चारमा पनि मोबाइल फोनको ठूलो योगदान छ । टाढा टाढा रहेका आफन्तजनसँग भेटघाट भएको छ । आगामी दिनहरुमा मोबाइल फोनको माग अझैं बढ्नेछ । पूँजीका लागि नविल बैंक तयार छ ।’ कार्यक्रममा ससस्त्र प्रहरी सुरक्षा बलका डिआइजी सिपी गजुरेलले पनि सीमा क्षेत्रमा हुने अबेध निकासी पैयठारीलाई रोक्न संगठन तयार रहेको बताए ।


कार्यक्रममा बोल्दै नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले संस्थाको कानूनी अधिकारभित्र रहेर यही महिनाभित्र एमडिएमएस लागु गरी मोबाइल बजार व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै उनले भने ‘मोबाइल फोन सेवाको व्यवस्थापनमा काम गरिरहेका छौं । एमडिएमएस लागु गर्ने अन्तिम तयारी भइरहेको छ । कोरोना भाइरसका काराण सिस्टम लागु गर्न ढिलाइ भयो । यही महिनाको अन्तिममा यसलाई हामीले पूर्ण रुपमा लागु गर्छौं ।’


महाधिवेशनको उद्घाटन सत्र समापन गर्दै संस्थाका दिनेश चुल्याद्योले मोबाइल बजारलाई व्यस्थित गर्दे माथि उठाउनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘मोबाइल फोन अत्यावश्यक हुँदाहुँदै पनि महंगो भइरहेको छ । यसलाई कम गर्न करका दरमा हेरफेृर गरिदिनुपर्नेछ । भने एमडिएमएस तत्काल लागु गरेर सरकारले सहयोग गरिदिनुपर्नेछ ।’


कार्यक्रममा देशभरी मोबाइल व्यवसायी उपस्थित थिए । संस्थाको दोस्रो महाधिवेशनको बन्दसत्रले अब नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार १२:३७