व्यापारीसँग फोहोर शुल्क उठाउँदै तुलसीपुर उपमहानगर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

व्यापारीसँग फोहोर शुल्क उठाउँदै तुलसीपुर उपमहानगर



दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोरो व्यवस्थापनका लागि भन्दै व्यापारीहरूबाट मासिक शुल्क उठाउन सुरु गरेको छ । चालू आर्थिक वर्षदेखि फोहोर व्यवस्थापनको नाममा स्थानीय व्यवसायीहरूबाट फोहोर शुल्क उठाउन उपमहानगरले सुरु गरेको हो ।

मासिक एक हजार रुपैयाँसम्म फोहोर शुल्क उठाउन थालिएको हो । व्यवसायी र नगरबीच भएको छलफल र सम्झौताअनुसार उपमहानगरले फोहोर शुल्क उठाउन सुरु गरेको उपमहानगरको वातावरण शाखाले बताएको छ । उपमहानगरले साउन महिनादेखिको फोहोर शुल्क बुझाउन व्यवसायीलाई सार्वजनिक रूपमा आह्वान गरेको छ । बजारमा रकमसमेत उठाउन सुरु भइसकेको छ ।

दैनिश १४ टन फोहोर संकलन हुने तुलसीपुरमा बढी फोहोर व्यवसायीबाटै संकलन हुने भएको हुँदा शुल्क तय गरेर रकम उठाउन लागिएको नगरपालिकाले जनाएकाे छ । फोहोर संकलनका लागि गाडी पठाउने रुटहरूमा उद्योग तथा व्यवसाय सञ्चालन गर्दै व्यवसायीबाट व्यवसाय वर्गीकरण गरी शुल्क उठाउन थालिएको हो । फोहोरसंकलन वापतको शुल्क उठाउनका लागि उमहानगरले कमर्चारीसमेत खटाइसकेको छ । उपमहानगरले व्यवसायको प्रकृतिका आधारमा फोहोर शुल्क तोकेको छ ।

फोहोर व्यवस्थापनलाई सहज बनाउन व्यवसायीबाट फोहोर शुल्क उठाइने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिए । नगर परिषद्को निर्णयका आधारमा व्यवसायीबाट फोहोर शुल्क उठाउन सुरु गरिएको सरसफाइ शाखाका नासु खेमकान्त पाण्डेले बताए । उनका अनुसार फेन्सी तथा होलसेल कपडा पसल, किराना पसल, ईलेक्ट्रोनिक पसललगायतका सटरसहितका प्रत्येक पसलबाट मासिक पाँच सयका दरले वर्षको ६ हजार रुपैयाँ फोहोर शुल्क लिइने छ ।

होलसेल फलफूल तथा तरकारी पसलबाट मासिक एक हजारको दरले वर्षको १२ हजार, व्युटीपार्लर तथा कस्मेटिक पसलबाट मासिक तीन सयका दरले एक वर्षको तीन हजार ६ सय रुपैयाँ फोहोर शुल्क संकलन गरिने उनले जानकारी दिए । ठूला होटल, कलकारखानाबाट मासिक एक हजार र साना होटेलबाट पाँच सय रुपैयाँ फोहोर शुल्क लिने नगर परिषद्ले निर्णय गरेको छ ।

प्रकाशित : १६ मंसिर २०७८, बिहीबार १४:३१