तराईका १८ शहरलाई आर्थिक केन्द्र बनाउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तराईका १८ शहरलाई आर्थिक केन्द्र बनाउने तयारी



11111काठमाडाै  २२ भदाै । तराईका १८ वटा विभिन्न शहरलाई आर्थिक केन्द्र बनाउन बजेटमा गरिएको प्रस्ताव अनुरुप यो वर्षका लागि योजना छनोट गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ। योजना आयोगले छनोट भएका कार्यक्रमलाई स्वीकृति दिए लगत्तै निर्माणको प्रक्रिया थालिने अधिकारीहरु बताउँछन्।

४ वर्षसम्ममा एउटा शहरमा २ अर्ब लगानी गर्ने गरी ठूला योजनाको छनोट गर्न लागिएको हो जस अनुरुप यो आर्थिक वर्ष प्रत्येक सहरका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको  बिबिसी नेपाली सेवाले लेखेको छ। उक्त योजनाले ढल निकास तथा प्रशोधन, सडक सुधार, बसपार्क लगायतका पूर्वाधार तयार पार्ने लक्ष्य राखेको छ।

यसरी हुन्छ छनोट

लामो समयदेखि चल्तीको रुपमा रहेका तर भौतिक पूर्वाधारको अवस्था ज्यादै दयनीय रहेका मेचीदेखि महाकालीसम्म तराईका १८ सहरमा सघन सहरी विकास कार्यक्रम लागू गर्ने योजना बजेटमा राखिएको थियो। कार्यक्रम लागू गर्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालयले ती शहर पर्ने नगरपालिकामार्फत पहिलो चरणका योजना छनोटको काम सकिएको जनाएको छ। मन्त्रालयका निमित्त सचिव शिवहरी शर्माले भने, “एउटा टोली २ वटा नगरपालिका गएर तत्काल गर्न सकिने र अध्ययन भइसकेका कार्यक्रम ल्याइसकेको छ, अब योजना आयोगमा स्वीकृतिका लागि पठाउने क्रममा छौँ।”

यस वर्षको बजेटमार्फत १८ वटै सहरमा ढल निकास, ढल प्रशोधन, सडक सुधार, खानेपानी, बसपार्क, तरकारी बजार, जस्ता आधारभूत भौतिक पूर्वाधारका काम गरिने बताइएको छ।

सन्तोषजनक गतिमा अघि बढ्नेमा  आशंका

४ वर्षमा २ अर्ब खर्च गर्ने गरि थप योजनाको अध्ययन गर्ने कामसमेत शुरु गरिएको निमित्त सचिव शर्माले बताए। उनले भने, “पूर्णरुपमा डिजाइन भइसकेका योजना तत्काल कार्यान्वयनमा ल्याउने र ठूला योजनाको अध्ययन गरेर तिनीहरुको डिजाइन गरेर अगाडि बढाइने छ।”

सघन शहरी विकास कार्यक्रम लागू गर्न लागिएका अधिकांश शहर पहिला योजना बिना नै बनेका हुनाले भित्री सडक विस्तार र ढल निकास जस्ता काम गर्न चुनौतीपूर्ण हुने बताइएको छ।

यसलाई पार गर्न सकिए तराईका पुराना शहरको मुहार फेरिने दाबी अधिकारीहरुको छ। अर्को छुट्टै योजना अन्तर्गत हालको पूर्व पश्चिम राजमार्गदेखि ती सहरसम्म जोड्ने सडकलाई फराकिलो पार्ने कामसमेत गर्न लागिएको छ।

तर यसरी सार्वजनिक गरिने अधिकांश परियोजनाका काम निकै सुस्त गतिमा अघि बढ्ने गरेको पृष्ठभूमिमा तराई क्षेत्रका सहरहरुको पूर्वाधार विकासको काम सन्तोषजनक गतिमा अघि बढ्नेमा आशंका कायमै छन्।

प्रकाशित : २२ भाद्र २०७३, बुधबार ०९:०७