नेपालमा गाडी उत्पादन कसरी गर्न सकिन्छ ठोस आधार लिएर आउनुस्ः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

नेपालमा गाडी उत्पादन कसरी गर्न सकिन्छ ठोस आधार लिएर आउनुस्ः अर्थमन्त्री



काठमाडौं । नेपालमा गाडी उत्पादन कसरी गर्न सकिन्छ त्यसको ठोस आधार लिएर आउन अर्थमन्त्री जनार्दन शर्माले नाडालाई आग्रह गरेका छन् ।

नाडाको ४५ औं साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अहिले अटो क्षेत्रले भन्सार राजस्वको २५ प्रतिशत हिस्सा बुझाएको बताउँदै आफु त्यसलाई घटाउन लागिपरेको बताएका थिए ।

नेपालले अटो उत्पादनमा जानुको विकल्प नरहेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘भन्सार राजस्व घटाएर कसरी यो क्षेत्रको राजस्वमा हिस्सेदारी ५० पुर्याउने हो त्यसमा लागौं । उद्योगको लागि जमिन, प्रविधि र श्रम नेपालमा नै उपलब्ध छ । विजुलीमा सहुलियत, श्रममा सहुलियत सरकार तयार छ ठोस प्रस्ताव नाडाले ल्याओस् ।’

नेपालमा उद्योग खुलेमा यहाँ रोजगारी सृजना, विद्युत खपत बढ्ने उनको भनाई थियो । देशले लिएको समृद्धिको लक्ष्य पुरा गर्न व्यवसायीले तत्कालको नाफामा असर पर्छ भनेपनि गाडी आयात गर्न रोक्न समेत तयार हुनु पर्ने उनले बताए ।

विद्युतीय गाडीको उपभोग बढाउने विषयमा सरकार गम्भिरसँग लागि परेको बताउँदै मन्त्री शर्माले भने, ‘अहिले चार्जिङ स्टेशन निर्माण हुन सकेको छैन । अब पेट्रोल पम्पलाई चार्जिङ स्टेशनमा बदल्नु पर्छ । त्यसको लागि सरकारले काम गरिरहेको छ ।’

नाडाको ४५ औं साधारण सभामा आफ्नो मन्तब्य राख्दै अध्यक्ष कृष्णप्रसाद दुलालले ७ वटै प्रदेशमा नाडाको उपस्थिति रहेको उल्लेख गर्दै हरेक क्षेत्रका व्यवसायीको समस्या समाधान गर्न नाडा प्रतिवद्ध रहेको बताएका थिए ।

अध्यक्ष दुलालले अटो क्षेत्रमा अझै धेरै समस्या रहेकाले पूर्वाधार निर्माण र भएका पूर्वाधार दुरुस्त राख्न सरकारले ध्यान दिनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरोकारवाला निकाय र सरकारले घनिभुत छलफल गरेपछि आउने नीतिले मात्रै व्यवसाय फस्टाउने धारणा राखेका थिए । उनले नेपालमा अटो क्षेत्रको विकास तिब्ररुपमा अगाडि बढेको बताउँदै भने, ‘अहिले नै दुई पाङ्ग्रे सवारी साधन एसेम्बल भइरहेको र चाँडै चार पाङ्ग्रे सवारी साधन एसेम्बल हुन्छ ।’

नाडाको ४५ औं साधारण सभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत छनोट गर्दैछ । नयाँ नेतृत्व चयनको लागि भोलि मतदान हुने कार्यक्रम रहेको छ ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार १७:२९