उपभोक्ता कानून आउँदै, २० लाखसम्म जरीवाना, १० वर्षसम्म जेल ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उपभोक्ता कानून आउँदै, २० लाखसम्म जरीवाना, १० वर्षसम्म जेल !



dipakकाठमाडाै । आपूर्तिमन्त्री दीपक बोहराले यस वर्षको दसैँ सम्पूर्ण नागरिकले मूल्यवृद्धिरहित दसैँका रुपमा मनाउन पाउने दाबी गरेका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चको ११औँ स्थापना दिवसका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले दसैँ तिहारमा मात्र नभइ नियमित बजार अनुगमन गर्ने र नियमविपरित गएकालाई तत्काल कारबाही गर्ने बताए ।

‘उपभोक्ता हितसम्बन्धी अब बन्ने नयाँ कानुन कडाभन्दा कडा हुनेछ।’ मन्त्री बोहराले भने–‘आर्थिकका साथै सामाजिक रुपमा समेत कडा दण्डसजायको व्यवस्था उक्त कानुनमा हुनेछ । कम्तीमा पनि रु १० लाखदेखि रु २० लाखसम्म आर्थिक जरिवाना र १० वर्षको जेल सजायको व्यवस्था गर्ने हो भने कानुन बाहिर कसैले जाने हिम्मत गर्दैनन् ।’

पछिल्लो १५ दिनमा एकै ठाउँबाट रु ३४ लाखसम्मको म्याद नाघेका सामान नष्ट गरेको बताउँदै मन्त्री बोहराले अहिलेसम्म ४०७ जनालाई कारबाही समेत गरिसकेको जानकारी दिए ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धितालले संविधानले उपभोक्ताको मौलिक हकको ग्यारेन्टी गरेको बताउँदै उपभोक्ता हित विपरित कार्य गर्नेलाई कानुनी कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्तालाई आफ्नो अधिकारबारे झकझकाउने, व्यवसायीलाई प्रोत्साहित र खबरदारी गर्ने कामलाई निरन्तरता दिँदै आएको बताए । कार्यक्रममा मञ्चका मकवानपुर र सुनसरी शाखालाई सराहनीय कार्य गरेको भन्दै सम्मान गरिएको थियो ।

प्रकाशित : २९ भाद्र २०७३, बुधबार ०३:३६