संविधानको मर्मविपरित भए ऐन संशोधन गर्न तयार छु ः सहकारी मन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

संविधानको मर्मविपरित भए ऐन संशोधन गर्न तयार छु ः सहकारी मन्त्री



काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले कसैको निजी स्वार्थ पुरा गर्नका लागि मात्र ऐन संशोधन नहुने बताउनुभएको छ । उहाँले संविधानको मुल मर्म, भावना तथा सहकारी दर्शन, सिद्धान्त अनुसार ऐन छैन भने त्यसलाई संशोधन गर्न आफू तयार रहेको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासघको २९ औं बार्षिक साधारण सभाको मंगलबार उद्घाटन गर्दै उहाँले भन्नुभयो,‘कुनै ऐन संविधानसँग बाँझिने खालको छ भनेर परिकल्पना गर्न सकिदैन । यदि त्यस्तो छ भने ऐन संशोधनका लागि म तयार छु ।’ मुलुक अध्यादेशबाट चलाउने स्थिति सिर्जना हुन दिनु नहुने समेत बताउनुभयो । उहाँले सहकारीलाई मर्यादित र सुशासित रपमा संचालन गराउनका लागि नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले कोभिड १९को महामारीको कठिन परिस्थितिमा सहकारीले खेलेको भूमिको प्रशंसा समेत गर्नुभयो । ‘तिव्र आर्थिक बृद्धि हासिल गर्न, शोषण रहित समाज निर्माण गर्न र आत्मनिर्भर समृद्ध अर्थतन्त्र निर्माणका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले उत्पादन बृद्धि गर्दै मुल्य शृखलामा सहकारीको योगदान हुने देख्छु,’ उहाँले बताउनुभयो ।


कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले मुलुकको कुल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान ५ प्रतिशत र वित्तिय क्षेत्रमा करिब १७ प्रतिशत भन्दा माथि रहेको बताउनुभयो । उहाँले ४ दर्जन बढी अन्तरसम्बन्धित ऐनहर संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारी शुसासन र स्वनियममा केन्द्रीय संघहरुलाई समेत सचेत गराउनुपर्ने अवस्था रहेकाले महासंघको समेत भूमिका आवश्यक रहेको औल्याउनुभयो । उद्घाटन कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशब बडाल, वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गर्नुभएको थियो ।


कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले महासंघको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले वित्तिय अवस्थाको विषयमा जानकारी गराउनुभएको थियो । साधारण सभाले १० बर्षे रणनीतिक योजना स्वीकृत गरेको छ । त्यसैगरी महासंघको विधान समेत संशोधन गरिएको छ ।


नेपालमा चितवनको बखनापुर ऋण सहकारी समितिको स्थापना भई वि.स. २०१३ साल चैत २० गते शुरु भएको नेपालको सहकारी अभियान अहिले ६५ औं बर्षको यात्रामा छ । हाल सहकारी संस्थाहरुको संख्या २९ हजार ८ सय ८६, शेयर सदस्य ७३ लाख ७ हजार ४ सय ६२ र शेयर पूँजी ९४ अर्ब १० करोड रहेको छ । ४ खर्ब ७७ अर्ब ९६ करोड बचत परिचालन भई ४ खर्ब २६ अर्ब २६ करोड ऋण परिचालन भएको छ । ८८ हजार ३ सय ९ प्रत्यक्ष रोजगारी र करिब १० लाख व्यक्तिहरुलाई अप्रत्यक्ष रुपमा स्वरोजगार बनाएको छ । देशभरि १९ वटा विषगत केन्द्रीय सहकारी संघ, ७० वटा जिल्ला सहकारी संघ २५६ विषयगत जिल्ला सहकारी संघ सहकारी अभियान क्रियाशिल रहेका छन् । प्रदेश स्तरीय सहकारीहरु र व्यवसायीक प्रकिृतिका विशिष्टकृत सहकारी संघहरु समेत स्थापना भैरहेका छन् ।

प्रकाशित : २८ पुष २०७८, बुधबार १२:१६