ग्लोबल आइएमई बैंकको नाफा बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको नाफा बढ्यो



काठमाडाैं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडको अधिकांश वित्तीय सूचक सन्तोषजनक देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो। खुद फि तथा कमिशन आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.६९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने १३.५७ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ करोड ७८ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० करोड ४० लाख रुपैयाँ झरेको छ। जसले गर्दा सञ्चालन मुनाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २१ रुपैयाँ ४० पैसाबाट बढेर २२ रुपैयाँ ३९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३.४९ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निक्षेप १.२९ प्रतिशत बढेको छ भने कर्जा १२.१५ प्रतिशत बढेको छ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार ०९:१५