शनिवार नर्भिकमा दुई टिमले फ्री ओपिडी संचालन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शनिवार नर्भिकमा दुई टिमले फ्री ओपिडी संचालन गर्ने



काठमाडौं । विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत प्रत्येक शनिवार निःशुल्क ओपिडी अभियान संचालन गर्दै आएको छ । अस्पतालले सर्वसाधारणबाट आएको अधिक मागलाई सम्बोधन गर्न आगामी चैत १९ गते शनिवार २ विशेषज्ञसहितको टिम परिचालन गरि ४ घण्टा निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको हाे ।

उक्त दिन नर्भिकको दुई यूरोलोजी टिमले निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्ने जनाएको छ । बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिनेछ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् ।

निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छन् ।

यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । यसैबीच, शनिवार बिहान ११ बजेदेखि १ बजेसम्म यूरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपिडी सेवा संचालन गर्नेछ । यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान केही साताअघिदेखि पुनः सुरु भएको छ ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार १३:२३