पुँजी बजारमा महिलाको आकर्षणः घर धन्दासंगै नेप्से इन्डेक्सको उत्तार चढाबमा ध्यान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

पुँजी बजारमा महिलाको आकर्षणः घर धन्दासंगै नेप्से इन्डेक्सको उत्तार चढाबमा ध्यान



काठमाडौं। पछिल्लो समय नेपाली पुँजी बजारमा महिला लगानीकर्ताको चासो र सहभागिता उत्साहजनक रुपमा वृद्धि भएको छ । घरकै काममा मात्र व्यस्त हुने गरेका महिलाहरु आजभोलि सेयर बजार सूचक (नेप्से इन्डेक्स)को उत्तारचढाब हेरेर बस्न थालेका छन् । सिडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हितग्राही (डिम्याट)खाता खोलेर आइपिओ भर्नेको संख्या ५१ लाख २१ हजार ८ सय पुगेको छ । जसमा महिलाको संख्या मात्र २१ लाख ७३ हजार ६ सय ३५ पुगेको छ ।

आर्थिक उपार्जनका काममा महिला सहभागिता बढिरहेका बेला सेयर बजारमा पनि महिला लगानीकर्ताको संख्या बढ्नु स्वभाविक भएको विश्लेषण गरिएको छ । यता, प्राथमिक सेयर भर्नका लागि मात्र नभई विगत केही वर्षदेखि सेयर दलाल कम्पनीहरूमा सेयरको कारोबारका लागि पुग्ने महिलाहरुको संख्या पनि बढ्दो थियो । दोस्रो बजारमा सेयर कारोबारको समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनुले पनि महिलालाई थप सजिलो बनाएको महिला लगानीकर्ताहरु बताउँछन् ।

दोस्रो बजार बिहान ११ बजेदेखि ३ बजेसम्म खुल्ने भएकाले घरधन्दा सकेर बाँकी रहेको समय सेयर बजारमा दिन सजिलो भएको हो । यता, सेयर बजार प्रविधिमैत्री बन्दै जाँदा पनि महिला लगानीकर्ताको आकर्षण बढेको छ । केही वर्ष अगाडि महिलाहरुको जिम्मेवारी घर र परिवारको रेखदेख गर्नुमा सीमित थियो। तर फुर्सदको समय सदुपयोग हुने र अनलाइन कारोबारका कारण सहज बन्दै गएकाले महिलाको आर्कषण बढेको आर्यतारा ईन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका सञ्चालक भट्टराई बताउँछन् ।

भट्टराई थप्छन्, ‘दोस्रो बजारमा जोखिम बढी हुने भएकाले महिलाहरुको सेयर बजारको प्रवेशको चरण आइपिओ पनि एक हो । अहिले महिला पनि पुरुष बराबर सबै क्षेत्रमा काम गर्ने अवस्थामा पुग्दै गइरहेका छन्। फलस्वरुप सेयर बजारमा लगानी गर्ने महिलाको संख्या पनि बढेको हो।’

सानो लगानी ठूलो अवसर

आफैं केही गरेर जीविकोपार्जन गर्छु भन्ने महिलालाई सेयर बजार एउटा राम्रो रोजगार तथा कमाउने अवसरको क्षेत्रको रुपमा पुँजी बजार देखिएको छ । महिलाहरुले घरायसी काम सकेर थोरै रकम लगानी गरेर पनि धेरै आर्जन गर्न सकिन्छ भन्ने सोचले पछिल्लो समय महिलाहरु आकर्षित भएको देखिन्छ।

हिसाब किताब राख्न सजिलो, परिवारलाई हेर्न पनि सकिने साथै घरैमा बसेर कारोबार गर्न मिल्ने ‘पार्ट टाईम’को रुपमा काम गरेर केहि नाफा कमाउ भन्ने उद्धेश्यले महिला सक्रियता पुँजी बजारमा बढेको एबिसी सेक्युरिटिजका कार्यकारी अधिकृत नितेश कुमार अग्रवाल बताउँछन् ।

केही वर्ष अगाडि पुरुषले नारीको नामबाट डिम्याट खाता खोल्ने र आईपीओमा आवेदन दिनका लागि मात्र सेयर बजारमा महिलालाई ल्याउने चलन थियो । तर अहिले त्यो अवस्था छैन। दोस्रो बजारमा दैनिक लगानी गर्ने लगानीकर्ताको संख्या नै उल्लेख्य रुहेको छ। महिलाहरुमा पनि अहिले आफैं केही गर्नुपर्छ भन्ने चेतना बृद्धि भएकोले पनि पछिल्लो समय गृहणी देखी जागिरे महिलाहरु पुँजी बजारमा आउने क्रम बढेको भृकुटी स्टक ब्रोकिडका निर्देशक विजय रानाभाटले बताए । अन्य क्षेत्रमा लाग्दा नभएको आर्थिक उपलब्धि सानो रकम लगानी गरेर शेयर बजारबाट केही महिना वा केही दिनमै हासिल गर्न सकिने अवस्थाले पनि महिलाको रुची बढ्दै गएको देखिन्छ ।

प्रविधिले बढायो अवसर

सेयर बजारमा कमाउने सम्भावना जति उच्च छ उतिकै उच्च छ गुमाउने जोखिम । सेयर बजारमा प्रवेश गर्ने महिला लगानीकर्ताको संख्या बढेको भएपनि बजारका बारेमा जानकार महिलाको संख्या भने न्यून रहेको जानकारहरु बताउँछन् । श्रीमानले आइपिओका लागि खाता खोल्ने र त्यही लहडमा थोरै पैसाबाट पनि आम्दानी लिन सकिने लोभले पनि पुँजीबजारमा होमिनेहरुको संख्या बढ्दै गएको हो ।

कतिपय महिलाहरु सेयर किनबेच गर्नको लागि श्रीमान वा अरु साथीभाईले सुझाएका कुरालाई धारणा बनाएर अगाडी बढ्नु पर्ने बाध्यता छ ।पछिल्लो समय पुँजी बजारले महिलालाई आर्थिक क्षेत्रका बारेमा थोरबहुत बुझ्ने मात्र बनाएको छैन । आर्थिक रुपले स्वतन्त्र हुने बाटो समेत खुला गरेको छ । सेयरबाट कसरी आम्दानी गर्न सकिन्छ ? कतिबेला सेयर किन्ने र कतिबेला बेच्ने ? भन्ने बारेमा समेत महिलाहरु तालिम लिन थालेका छन् । बजारमा महिला लगानीकर्ताको आकर्षण बढ्नुको मुख्य कारण भनेको प्रविधिसँग निकटता बढेको देखिन्छ।

यसले पनि आइपीओ र दोस्रो बजारमा लगानी गर्न थप सहज बनाएको छ। प्रविधिको सहि सदुपयोग गरेर सेयर बजार सम्बन्धी अध्ययन गर्नेलाई पनि यो क्षेत्रमा आकर्षण बढाउन सहयोग पुगेको जानकारहरु बताउँछन्। तथापि, पुँजी बजारका दायर भने अझैं फलाकिलो बनाउन उनिहरुको तर्क छ ।

कुन प्रदेशमा डिम्याट खाता खोल्ने महिलाको संख्या कति ?

पुँजी बजार प्रविधिमैत्री भएपछि शहरी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्र लगाएत हरेक प्रदेशका महिलाहरु डिम्याट खाता खोली आईपीओ भर्नेतिर उल्लेख्य रुपमा लागेको देखिन्छ । यसरी प्रादेशिक हिसाबले हेर्दा सबैभन्दा धेरै डिम्याट खाता खोल्नेको संख्या बाग्मती प्रदेशमा छन् भने सबैभन्दा कम कर्णाली प्रदेशका महिला छन् ।

बाग्मती प्रदेशमा १९ लाख ८९ हजार २ सय ६९ जनाले डिम्याट खाता खोलेका मध्ये ८ लाख ८५ हजार ९सय ८२ जना महिलाको डिम्याट खाता कम्पनीले खोलेका छन् । गण्डकी प्रदेशमा ६ लाख ९० हजार ८ सय ६२ डिम्याट खाता मध्ये ३ लाख ५ हजार ४३ जना महिलाको रहेको छ ।त्यसैगरी लुम्बिनी प्रदेशमा ५ लाख ६८ हजार ४ सय ९२ वटा डिम्याट खाता मध्ये २ लाख ३६ हजार ९ सय २७ जना महिलाको डिम्याट खाता कम्पनीले खोलेका छन् ।

कर्णाली प्रदेशमा १ लाख १३ हजार ४ सय २२ वटा डिम्याट खाता मध्ये ४१ हजार ४२ वटा महिलाको खाता छन् । प्रदेश नं १मा ९ लाख ६० हजार ८ सय ४६ वटा डिम्याट मध्ये ४ लाख १८ हजार ७ सय ९७ वटा महिलाको डिम्याट खाता छन् । प्रदेश नं २ मा ५ लाख २ हजार २ सय ३६ वटा डिम्याट खाता मध्ये महिलाको १ लाख ७७ हजार ५ सय ६० खाता महिला बर्गको रहेको छ ।

चुनौति पनि प्रशस्त

नेपाली पुँजी बजारमा केही बर्ष अघिसम्म मानिसहरुमा लैङ्गिक हिसाबले हेर्ने दृष्टिकोण फरक थियो । जसमा पुँजी बजार भनेको महिलाले गर्ने भन्दा पनि यसमा पुरुषहरुले लगानी गर्नु ठिक छ भन्ने सोच थियो । आयश्रोतको हिसाबदेखी सबै कुरामा पुरुषहरु मार्केटतिर लाग्न अग्रसर हुन्थे । तर, आजको समयमा पुँजी बजारको बारेमा सबै मानिस जानकार हुँदै जाँदा र प्रविधिमैत्री भएसंगै तिनै पुरुषहरुले महिलाहरुलाई पनि अग्रसर गदै लगेको पाइन्छ ।

कतिपय महिला जानेर अगाडी बढेका छन् भने कतिपय प्रचार प्रसार र आफ्ना नातेदार साथीभाईको संगतका कारण लगानी गरेको देखिन्छ । जो महिला जानकार भएर लागे उनीहरु सफल हँुदै गएका पनि छन् । कतिपय जानकार नभएका महिला लगानीकर्ता सेयर बजारको उत्तरचढाब देखेर निराश भएका छन् । त्यसले पनि महिलालाई अब कता जाँऊ के गरौ,कसरी लगानी उठाऊ भन्ने धर्म संकटको स्थितीबाट गुज्रिनु परेको छ ।

बजारमा महिलालाई अवसर र चुनौति दुवै छन् । निर्णय लिन समस्या हुने भएकोले अरुलाई सोधेर सेयर बजारमा लगानी गर्दा भोलि अप्ठ्यारा परिस्थिती आउने हो कि, आफुसंग भने जति रकम नहुँदा सेयर किनेर राख्ने र बजार घट्दै गएपछि फेरि थप्ननसक्ने करणले गर्दा महिलालाई पुँजी बजारमा स्वतन्त्र रुपमा लाग्नलाई समस्या भईरहेको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल बताउँछिन् ।

‘पछिल्लो समय पुँजीबजार प्रविधिमैत्री भएपछि घरबाटै गर्न सकिने भएको छ । लगानी गरिसकेपछि जोखिम त हुन्छ नि तर पहिलै लगानी गर्न महिलाहरुलाई गार्हो त्यती नभएको उनले बताईन । त्यसमा पनि सेयर बजार भनेको आफै बुझेर लगानी गर्ने ठाँउ भएकाले गृहिणीहरु घरको काम भ्याएर थोरै लगानीमा धेरै कमाउँछु भन्ने सोचाई भएकालाई पढ्न नभ्याउने र कारोबार हेर्न पनि समस्या परिरहेको छ । त्यो कुरा शिक्षित महिलामा भने अलि फरक छ उनीहरुले पहिलादेखि नै पुँजी बजारमा लगानी गरिसकेका हुन्छन् । बजारमा हुने विसंगतीदेखि छलफल कार्यक्रममा सहभागी भइरहेकाले अलि सहज त हुन्छ तर आफुले सोचेभन्दा फरक ढंगले बजार जादा गुमाउने डरले विभिन्न समस्या आएका छन् ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार १०:२५