नौ महिनामा १४ खर्ब ६६ अर्बको आयात हुँदा एक खर्ब ६० अर्बको निर्यात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नौ महिनामा १४ खर्ब ६६ अर्बको आयात हुँदा एक खर्ब ६० अर्बको निर्यात



काठमाडौं । राष्ट्र बैंकले चालू आर्थिक वर्षको नौं महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई १६० अर्ब ५७ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैंचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्त मञ्जन, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भई १४६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्ट्स, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई १३ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १०.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १६७ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३९ अर्ब २८ करोड बराबरको भएको थियो ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार १६:१३