राष्ट्रिय सहकारी बैंक आइतबार पनि खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

राष्ट्रिय सहकारी बैंक आइतबार पनि खुल्ने



काठमाडौं । राष्ट्रिय सहकारी बैंक आइतबार पनि खुल्ने भएको छ । आइतबार कारोबार समय भने बिहान ११ः०० बजेदेखि दिउँसो ४ः३० बजे सम्म हुनेछ । नगद भुक्तानी सिमा प्रति सस्था १० लाखसम्म हुने बैंकले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सीमित जनशक्ति राखेर कार्यालय सञ्चालन गर्न लागिएको बताए । ‘आइतबार खटिने कर्मचारीलाई थप सेवासुविधा दिने छौं’ उनले भने । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि राष्ट्रिय सहकारी बैंकले भने आइतबार बिदा नगर्ने निर्णय गरेको हो । धेरै सहकारी संस्था आइतबार पनि खुलेकाले सेवा प्रवाह गर्न आइतबार कार्यालय खुल्ने अध्यक्ष उप्रेतीले बताए ।

‘सबै सहकारीमा आइतबार बिदा भएको छैन ’ उनले सहकारी अखबारसँग भने, ‘कम्तीमा ५० प्रतिशत सहकारी खुलेकाले बैंकले आइतबार पनि सेवा दिन लागेको हो ।’

सहकारी बैंक सहकारी क्षेत्रको एकमात्र बैंक हो । बैंकले सहकारी संस्थाहरुबाट निक्षेप संकलन गर्ने र उनीहरुलाई नै ऋण लगानी गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले शनिबार र आइतबार दुईदिन बैंक तथा वित्तिय संस्था बन्द गर्न निर्देशन दिए पनि धेरै सहकारी खुलेकाले राष्ट्रिय सहकारी बैंकले बिदा नदिने निर्णय गरेको हो ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार १८:५२