नर्भिकमा यूरोलोजीको टिमले निःशुल्क ओपिडी चलाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

नर्भिकमा यूरोलोजीको टिमले निःशुल्क ओपिडी चलाउने



काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तरगत आगामी २८ गते शनिवार विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो ।

नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी यसमै केन्द्रीत गरिरहेको हो ।

यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछन् । यो टिमले विहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ ।


मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछन । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ ।

मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार १४:२९