भ्रष्टाचारको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

भ्रष्टाचारको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विभिन्न सरकारी निकायमा रहेका ६ जना व्यक्तिहरु विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा रुपन्देहीका ५ र बाँकेका १ गरी ६ जना विरुद्ध मंगलबार विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो।

आयोगले रुपन्देही जिल्ला ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, सब–इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको श्री शंकर माध्यमिक विद्यालय थपवा, बाँकेका प्रधानाध्यापक मुहम्मद युनुस खाँ विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको छ ।

ओमसतिया गाउँपालिका वडा नं. ४ मटेरिया गाउँको मुख्य सडक पीसीसी निर्माण कार्य गर्दा सम्झौता अनुसार काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी परेको आयोगले जनाएको छ । उक्त गाउँको मुख्य सडकमा पीसीसी गर्ने कार्यमा लागत अनुमान अनुसारको मोटाईमा ढलान नगरी सोभन्दा कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी। परिमाणमा बढी उल्लेख गरी २ लाख ६१ हजार ८५५ रुपैयाँ सरकारी रकम हानिनोक्सानी गरेका भन्दैे विभागले सोही बराबरको रकम निजबाट मागदावी गरेको छ ।

यस्तै, शंकर माध्यमिक विद्यालय, थपवा, बाँकेका प्रधानाध्यापक खाँले २०६८ सालदेखि २०७४ सालसम्ममा छात्रवृत्तिको लागि प्राप्त रकममा, कम्प्यूटर खरिद, भवन निर्माण र शौचालय निर्माण कार्यमा तथा विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरेको भन्ने उजुरी परेको विभागले जनाएको छ ।

प्रधानाध्यापक मुहम्मद युनुस खाँले शिक्षा नियमावली, २०५९ को परिच्छेद २९ नियम १६५ मा विद्यालयले प्राप्त रकम जुन कामको लागि खर्च गर्न निकासा भएको हो सोही काममा मात्र खर्च गर्नुपर्ने भन्ने व्यवस्था विपरीत छात्रवृति वितरण तर्फको रकम र कम्प्युटर खरिदतर्फको रकम गरी कुल जम्मा ३ लाख २ हजार १९७ रुपैयाँ तोकिएको शीर्षकमा खर्च नगरी हिनामिना गरेको पुष्टि हुन आएको भन्दै आयोगले निजबाट बिगो ३ लाख २ हजार १९७ रुपैयाँ कायम गरी मंगलबार बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रकाशित : १४ असार २०७९, मंगलवार १८:२९