अमेरिकाको डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यमा पाल्पाका चापागाई विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

अमेरिकाको डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यमा पाल्पाका चापागाई विजयी



काठमाडौँ । अमेरिकाको बाल्टिमोर स्टेट काउण्टिको डिष्ट्रिक ‘७ए’ बाट डेमोक्रयाटिक पार्टीको केन्द्रिय सदस्यमा पाल्पाका सतीश चापागाई निर्वाचित भएका छन् ।

उनले ४ हजार ३ सय ४४ मत प्राप्त गरेर सत्तारुढ दलको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । नेपालमा रहँदा सक्रिय पुर्णकालीन पत्रकारिता गरेका चापागाईले अमेरिकामा पनि पत्रकारिता र सामाजिक सेवा गर्दै आएका छन् ।

उनी लोकतन्त्रबादी नेपाली पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनका पुर्वउपाध्यक्ष समेत हुन् । उनको नेतृत्वमा नेप्लिज डायस्पोरा अमेरिकाबाट सञ्चालित छ । उनी एनआरएनए युएसएका मिडिया संयोजक पनि हुन् ।

आफू विजयी भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मैले मेरो पत्रकारिता र सामाजिक कर्मका क्रममा पटक पटक भन्दै आएको छु की ‘हामी पलायन होईन बिस्तार भएका हौं ।’ अमेरिकी राजनीतिको मूल प्रवाहमा भएको मेरो यो विजय पनि त्यहि श्रृंखलाको अर्को एउटा कदम मात्र हो ।” उनले दर्शन रौनियारबाट शुरु भएको अमेरिकी राजनीतिको मुल प्रवाहमा प्रवेशको यात्रा किरण सिटौला, ह्यारी भण्डारी, प्रदीप ढकाल, टीका पौडेल, भुवन प्याकुरेल, रामचन्द्र श्रेष्ठ र सराहना श्रेष्ठसम्म सफलतापूर्वक आएको स्मरण गरेका छन् ।

अमेरिकाको मूलधारको राजनीतिमा प्रतिस्पर्धामा उत्रेर पहिचान बनाउन सफल नवराज केसी, मोहन ज्ञवाली र दिनेश शर्मा, काशी अधिकारी, अर्जुन हमाल, ईन्द्र बहादुर थापा र अमृता रेग्मीलाई पनि बिर्सन नहुने उनले उल्लेख गरे ।

‘पद’ ठुलो कुरा होईन ‘पथ’ महत्वपूर्ण कुरा भएको बताउदै उनले अथाह सम्भावनाको भूमीमा नेपाली सबै मिलेर आप्रवासी र सिमान्तकृत वर्गको हीतका लागि राजनीतिको मूल प्रवाहमा अगाडी बढ्न आह्वान पनि गरेका छन् ।उनले लेखेका छन्, “यो एउटा लामो यात्रा हो । यसलाई आयतनमा होईन आयाममा नापौं । सबै सहभागी बनौं र समाहित बनौं ।”

प्रकाशित : १८ श्रावण २०७९, बुधबार ११:०८