स्मार्टफोनको लतबाट छुटकारा पाउन चाहनुहुन्छ ?यस्तो छ उपाय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्मार्टफोनको लतबाट छुटकारा पाउन चाहनुहुन्छ ?यस्तो छ उपाय



एजेन्सी । यदि तपाईं आफ्नो स्मार्टफोनमा घण्टौं बिताउनुहुन्छ भने यसको अर्थ हुन्छ की तपाईंमा स्मार्टफोनको लत लागेको छ ।बारम्बार फोन नहेरी बस्नै सक्नुहुन्न भने अब तपाईं सम्हालिने बेला आइसकेको छ किनकी स्मार्टफोनको लतले ठूलो नकारात्मक असर पार्नसक्छ । तर यदि तपाईंले केही स-साना कुराहरुमा ध्यान दिनुभयो भने यो खराब बानीबाट मुक्ति पाउन सक्नुहुन्छ ।

१. स्मार्टफोन कम प्रयोग गर्नेः स्मार्टफोनलाई आफूबाट सधैं टाढा राख्ने वा चलाउँदै नचलाउने भन्न खोजिएको होइन । तर कुन बेला फोन चलाउने र कुन बेला नचलाउने भन्ने समय किटान गर्नुहोस् । खाना खाने समयमा, साथीभाइसँग कुराकानी गरिरहेको बेला तथा पार्टनरसँगको अन्तरंग पलका बेला समेत स्मार्टफोनमा घोत्लिनु भएन ।

२. अनावश्यक एपबाट मुक्तिः फेसबुक तथा टि्वटरजस्ता सोसल मिडिया एपहरु स्मार्टफोनका लागि आवश्यक छैन । यदि त्यसो हो भने स्मार्टफोनकै के काम रह्यो र ? भन्नुहोला । तर सत्य कुरा के भने तपाईं यी एप बिना पनि बाँच्न सक्नुहुन्छ । यस्तै अरु खासै काम नभएका एप्सहरु पनि हटाउनुहोस् आफ्नो स्मार्टफोनबाट ।

३. सुत्नुअघि फोन अफ गर्नुहोस्ः सिरानीमै फोन राखेर सुत्ने बानी धेरैको हुन्छ, अफ गर्ने त परै जाओस् । तर सुत्दाखेरी फोन अफ गर्नु आवश्यक हुन्छ । यसो गर्दा तपाईंलाई फोनले डिस्टर्व गर्दैन र आरामको निद्रा पाइन्छ ।

४. एप्सको सहयोग लिनुस्ः काम नलाग्ने एपहरु हटाउने मात्र होइन काम लाग्ने एपहरु स्मार्टफोनमा मज्जाले प्रयोग पनि गर्नुपर्छ । प्लेस्टोरमा यस्ता धेरै एपहरु छन् जसले स्मार्टफोनको कम प्रयोग गर्न के गर्ने भन्ने कुराको जानकारी दिन्छन् । Rescue Time तथा AppDetox जस्ता एपहरु निकै फलदायी हुन्छन् । यी एपलाई डाउनलोड गरेर स्मार्टफोनमा कन्फिग्योर गरी तपाईं स्मार्टफोनको प्रयोग घटाउन सक्नुहुन्छ ।

५. समय हेर्न पुरानो तरिका अपनाउनेः समय हेर्नुपरेमा तुरुन्तै स्मार्टफोन गोजीबाट निकालिहाल्ने बानी परिसक्यो । समय हेर्नका लागि गोजीबाट निकालेको स्मार्टफोन अब समय हेरिसकेपछि लगत्तै गोजीमा छिर्नेवाला हुँदैन । नोटिफिकेसन के-के आए ? फेसबुकमा कै भैरहेको छ ? अनलाइनमा समाचार के छ ? आदि कुराको चियोचर्चो गर्न एकछिन औँलाहरु स्मार्टफोनको स्क्रिनमा कुदिरहन्छन् । त्यसैले समय हेर्नका लागि नाडीमा घडी बाँध्नु नै उपयुक्त हुन्छ । फोनमा अलार्म सेट गर्नुको साटो अलार्म घडीको प्रयोग गर्दा पनि स्मार्टफोनको लत केही घटाउन सहयोग पुग्दछ ।

६. फिचर फोनको प्रयोग गर्नेः यदि तपाईं स्मार्टफोनको लतको कब्जामा गइसक्नुभएको छ भने यसअघिका तरिकाहरु काम नलाग्न सक्छन् । तपाईंले अरु नै कदम उठाउनु पर्ने हुनसक्छ । केही हप्ताका लागि स्मार्टफोनलाई घरमै राख्नुहोस् र त्यसको ठाउँमा फिचर फोन प्रयोग गर्नुस् । यसपछि तपाईंले स्मार्टफोनको लतबाट मुक्ति पाउन लागेको अनुभव गर्नुहुनेछ ।

प्रकाशित : २ पुष २०७३, शनिबार ०९:३६